मदिरा सेवनपछि स्वास्थ्यकर्मीको कोठामा गएर यौन दुर्व्यवहार, तीन जना कर्मचारी पक्राउ


हुम्ला- हुम्लामा कार्यरत एक महिला स्वास्थ्यकर्मीमाथि सामूहिक बलात्कार प्रयास गरेको आरोपमा तीन जना कर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताँजाकोट गाउँपालिका–३ मैलास्थित स्वास्थ्य चौकीका इन्चार्ज लिलाराज शर्मा, एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढा रहेका छन्।

जिल्ला प्रहरी प्रमुख डिएसपी शंकर पोख्रेलका अनुसार मंगलबार राति करिब ११ बजेतिर उनीहरूले स्वास्थ्यकर्मीको कोठामा जबर्जस्ती प्रवेश गरी उनलाई बन्दक बनाएर सामूहिक बलात्कार प्रयास गरेको सूचनाको आधारमा प्रहरी टोलीले तत्कालै छप्रेला प्रहरी चौकीबाट कारबाही गर्दै तीनै जनालाई पक्राउ गरेको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले मदिरा सेवन गरेका थिए र त्यसपछि कोठामा गई विभिन्न प्रकारका यौन दुर्व्यवहार गर्न खोजेका थिए। घटनापछि पीडित महिला स्वास्थ्यकर्मीले आफ्नो संस्थाको केन्द्रीय कार्यालयलाई जानकारी गराएकी थिइन्। त्यसपछि केन्द्रीय कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयलाई खबर भएपछि पक्राउ प्रक्रिया अगाडि बढाइएको हो।

हाल तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला सदरमुकाम सिमकोट ल्याइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया