फेसबुक प्रेममा फस्दा दैलेखका युवकले ज्यान गुमाए, प्रेमिका नै बनिन् दुश्मन


दैलेख – फेसबुकबाट सुरु भएको प्रेम सम्बन्धले एक युवकको जीवन नै समाप्त गराएको  छ।

वैदेशिक रोजगारीबाट ३३ महिनापछि घर फर्केका  दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका–६, का  २८ वर्षीय सुरेन्द्रबहादुर शाहीलाई योजनाबद्ध रूपमा हत्या गरी छामघाट खोला किनारमा फालिएको खुलासा भएको हाे। सुरेन्द्रलाई विवाहको आश्वासन दिएर महावु गाउँपालिका–५, काँशीकाध बस्ने उनकी प्रेमिका २७ वर्षीय गंगा वन र उनका बुवा आमा नै यो योजनामा संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ।

शाही मलेसियामा रहँदा नै गंगासँग फेसबुकमा चिनजान भएको थियो। दुई वर्षको डिजिटल प्रेमपछि गंगाले  उनलाई प्रलोभनमा पारी चार लाख ४६ हजार रुपैयाँभन्दा बढी रकम पठाउन लगाइन्। त्यसपछि सुरेन्द्र नेपाल फर्किने बित्तिकै गंगाले ब्लक गरी सम्पर्क तोडेकी थिइन्।

नेपाल आएपछि पनि सुरेन्द्रले गंगासँग सम्पर्क खोज्दा अन्ततः उनी १० साउनमा झोलुङ्गे पुलमा बोलाइए। त्यहाँ गंगासँग विवाद भएपछि पुलबाट खोलामा फालेर हत्या गरिएको प्रहरीले जनाएको छ। अनुसन्धान अनुसार, गंगाका बुवा–आमाले साे योजना बनाएका थिए र अपराधमा सहयोग गरेका थिए।

प्रहरीले गंगा र उनका बुवाआमाविरुद्ध कर्तव्य ज्यान, आपराधिक षडयन्त्र, उद्योग र दुरुत्साहनसम्बन्धी मुद्दा दर्ता गरिसकेको छ। अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

 

प्रतिक्रिया