
नेप्सेमा हरियाली, ५३ अंकले परिसूचक बढ्दा साढे ७ अर्बको कारोबार
काठमाडाैं – बुधबार नेप्सेमा उछाल देखिएको छ । यस दिन नेप्से ५३.०१ अंकले बढेसँगै २८०० विन्दुभन्दा माथि पुगेको छ।
यस दिन नेप्से परिसूचक ५३.०१ अंक बढेर २८१९.१० विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ८.५२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.५५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०६ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४ अर्ब १८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२१ स्टकको ७२ हजार ५२८ पटकको कारोबारमा ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार रुपैयाँबराबरको १ करोड ४९ लाख ८६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
विकास हाइड्रोपावरको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य ४७ रुपैयाँ बढेर ५१७ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन समता लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ भने ग्रीन भेन्चर्सको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन १०.२५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ को मूल्य सर्वाधिक ५.७९ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६५ करोड ४२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको साढे ५५ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने ग्रीन भेन्चर्सको कारोबार रकम साढे ४६ करोड नाघेको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.४० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।



कागजपत्र |
