
रवि लामिछानेको रिट न्यायाधीश विष्टको इजलासमा
काठमाडौं – सहकारी रकम ठगी मुद्दामा नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेले दायर गरेको निवेदनमाथि आज (बुधबार) उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा सुनुवाइ हुँदैछ।
बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार लामिछानेको निवेदन ५ नं. इजलासमा रोल क्रम ४ मा परेको छ र न्यायाधीश सागर विष्टले सुनुवाइ गर्ने भएका छन्।
सुप्रिम बचत तथा ऋण सहकारीबाट ठगी प्रकरणमा लामिछानेले आफ्नो दायित्वमा पर्ने दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको धरौटी रकम बुझाएर छाड्न माग गर्दै गत साउन १९ गते जिल्ला अदालत रूपन्देहीमा निवेदन दिएका थिए। तर, साउन २६ गते जिल्ला न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त निवेदन अस्वीकार गरेको थियो। त्यसपछि उनले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका हुन्।
लामिछानेविरुद्ध कास्की, काठमाडौं, चितवन र पर्सामा पनि सहकारी ठगी मुद्दा दर्ता भएका छन्। कास्कीमा सहकारी ठगी र संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरण मुद्दा समेत रहेकाले उनको सांसद पद हाल निलम्बनमा छ।



कागजपत्र |
