जसको हत्या गरे उनकै तस्बिर छातीमा, अनि हातमा My heart Rubi Kumari !


जनकपुर – आफ्नै शरीरमा आगो लगाएर घाइते अवस्थामा भेटिएका लक्ष्मण पासवान र रुवी साहबीच गहिरो प्रेम रहेको खुलेको छ ।

रुवीको हत्या गरी सुटकेशमा शव राखेर फालेको आरोप लागेका लक्ष्मणले आत्मदाह गर्नुअघि सामाजिक सञ्जाल फेसबुकमा रुवीको हत्या आफूले गरेको स्वीकारेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेको भिडियोमा रुवीको हत्या आफूले गरेको र त्यसपछि आफ्नो हात काँपिरहेको जनाएका छन् । उनले रुवी मरिसकेपछि आफू पनि बाँच्नुको अर्थ नरहेको जनाएका छन् ।

उनले हत्यापछि जेल जानुपर्ने कुरालाई राम्रोसँग बुझेका पनि छन् । उनले भनेका छन्, ‘रुवीलाई मारेदेखि मेरो हात काँपिरहेको छ । मेरो जान मरिसकेकी छन् । म बाँचेर के गर्नु । पक्राउ परे जेल जानुपर्छ । १०/१५ वर्ष सजाय भोग्नुपर्छ ।’

उनले रुवीसँगको प्रेमसम्बन्धबारे पनि धेरै कुराहरु खुलाएका छन् । उनले हत्या अघि रुवी व्युटी पार्लरबाट आफ्नो कोठामा आएको र एकअर्का बिना बाँच्न नसक्ने सम्वाद भएको पनि खुलाएका छन् ।

उनले सामाजिक सञ्जालमा भनेअनुसार आफूहरु गहिरो प्रेमसम्बन्धमा रहेको कुरा उनको जलेको शरिरबाट पनि पुष्टी भएको छ । उनले रुवीको तस्बिरलाई छातीमा टाटु बनाएका छन् भने हात पनि रुवीकै नाममा My heart Rubi Kumari भनेर लेखेका छन् । यसबाट रुवीको बिहेपछि पनि उनीहरुको प्रेमसम्बन्ध झन् गहिरो रहेको खुलेको छ ।

स्कुलको बेलादेखि आफूहरुबीच सम्बन्ध रहेको र अदालतमा गएर बिहे गरेको उनले बताएका छन् । तर आफू गरिब भएकाले पारिवारिक तनावमा परेकाले रुवीको हत्या गरेको बताएका छन् ।

गत शनिबार राति १० बजेतिर गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका–९ मुडवालगेटस्थित सडकमा भेटिएको बेवारिसे सुटकेसभित्र २६ वर्षीया रुवी साहको शव भेटिएको थियो । माधव नारायण नगरपालिका– २ माधवपुर  माइत र भारतको मुजफरपुर घर भएकी रुवी गौरमा डेरा लिएर बसेर ४ वर्षीया छोरालाई पढाउँदै आएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीका अनुसार हत्याका मुख्य आरोपी पासवान आफ्नो शरीरमा आफैंले आगो लगाएको अवस्थामा माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि आज बिहान भेटिएका छन् । उनलाई नियन्त्रणमा लिएर प्रहरीले थप उपचारका लागि काठमाडौं पठाएको छ ।

प्रतिक्रिया