
ललितपुरमा अनलाइन जुवा र लागुऔषधमा संलग्न युवक ९१ लाखसहित पक्राउ
ललितपुर – ललितपुरमा अनलाइन जुवा (सट्टाबाजी) र लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरले ठूलो परिमाणको नगद र विभिन्न सामग्रीसहित सिन्धुली घर भएका २६ वर्षीय गौरव स्याङ्तानलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका–४ शान्तिकुना मार्गस्थित कोठाबाट सोमबार साँझ काठमाडौं उपत्यका प्रहरी कार्यालय र ललितपुर प्रहरीको संयुक्त टोलीले स्याङ्तानलाई पक्राउ गरेको हो ।
कोठामा गरिएको खानतलासीका क्रममा प्रहरीले नेपाली रुपैयाँ ९१ लाख ५० हजार, नोट गन्ने मेसिन, तौल गर्ने तराजु, २१ थान मोबाइल सेट, ल्यापटप, आइप्याड, आठ थान एटीएम कार्ड, पकेट वाइफाइ र ‘चेवाङ्’स् प्ले ग्राउन्ड’ लेखिएको बोर्ड बरामद गरेको छ ।
त्यसैगरी, प्रहरीले लुकाइएको अवस्थामा गाँजा जस्तो देखिने करिब १ किलो ५०० ग्राम लागुऔषधसमेत फेला पारेको जनाएको छ । बरामद सामग्रीसहित पक्राउ परेका स्याङ्तानलाई अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ ।



कागजपत्र |
