‘यशू ख्रिष्टको सेवक’ भन्दै धर्म प्रचार गर्ने अमेरिकी युवक ललितपुरबाट पक्राउ


ललितपुर- ललितपुरबाट धर्म प्रचार गरेको आरोपमा एक अमेरिकी नागरिक पक्राउ परेका छन् । अध्यागमन विभागले भिजिट भिसामा नेपाल बसेर ख्रिश्चियन धर्म प्रचारमा संलग्न अमेरिकी नागरिक डेनियल एस. कोर्नीलाई नियन्त्रणमा लिएको हो ।

अध्यागमन विभागका निर्देशक टीकाराम ढकालका अनुसार कोर्नीले आफूलाई ‘यशू ख्रिष्टको सेवक’ भन्दै लगनखेल बसपार्क, जावलाखेल र सुनधारा क्षेत्रमा सार्वजनिक रूपमा धर्म प्रचार गर्दै हिँड्ने गरेका थिए । यही गतिविधि देखिएपछि ढकालको नेतृत्वमा गएको टोलीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

सन् २०१५ मा पर्यटन भिसामा नेपाल प्रवेश गरेका कोर्नी पछि व्यापार भिसा र अध्ययन भिसा प्रयोग गरेर देशमै बस्दै आएका थिए । उनले विश्वभाषा क्याम्पसमा अध्ययन पनि गरेका थिए । पछिल्लो समय ललितपुर महानगरपालिका–१८ भैंसेपाटीमा नेपालीहरूसँग मिलेर चार तले घर भाडामा लिएर बालगृह सञ्चालन गर्दै आएको भेटिएको छ ।

अध्यागमन विभागले बालगृहमा रहेका करिब २० जना बालबालिकालाई धर्म प्रचारमा प्रयोग गरिएको दाबी गरेको छ । आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई ल्याएर बालगृहमा राखी ख्रिश्चियन धर्म पढाउने काम भइरहेको प्रमाण भेटिएको छ ।

प्रतिक्रिया