कोरोनाबाट पूर्वप्रधानसेनापति राणाको निधन


काठमाडौं — पूर्वप्रधानसेनापति अर्जनुनरसिंह राणाको ९१ वर्षको उमेरमा आइतबार निधन भएको छ ।

कोभिड–१९ सङ्क्रमणबाट उत्पन्न निमोनियाका कारण वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा उनको निधन भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

विसं १९८८ माघ २२ गते जन्मिएका राणा २०४० साल जेठ १ देखि २०४४ जेठ १ गतेसम्म नेपाली सेनाको प्रधानसेनापति थिए ।

राणा (८ अप्रिल १९३१, ठमेल, काठमाडौं)ले विद्यालयस्तरसम्मको शिक्षा भारतको अलिगढ तथा बनारसमा प्राप्त गरेपछि त्रिचन्द्र कलेजबाट स्नातक अध्ययन गर्दागर्दै सन् १९५२ मा सहायक सेनानीबाट नेपाली सेनामा प्रवेश गरेका थिए।

संयुक्त राष्ट्रसंघीय मिसन अन्तर्गत पहिलोपटक नेपाली सेनाले मौका पाउँदा पाँच जना अधिकृतको टोलीमा सन् १९५८ मा लेबनान (युनोगिल) गएका राणाले सेनाका विभिन्न जिम्मेवारीमा रहँदै सन् १९८३ देखि १९८७ सम्म् प्रधानसेनापतिका रुपमा नेतृत्व गरेका थिए।

उनी सन् १९८८ देखि १९९२ सम्म इस्लामिक गणतन्त्र पाकिस्तानका लागि शाही नेपाली राजदूत समेत भएका थिए।

उनका चार छोरी छन् । उनको पार्थिव शरीरलाई सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

प्रतिक्रिया