‘प्रचण्डसँग एकता गर्न माधव नेपाललाई सुझाव’
काठमाडौं – नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पार्टीबाट कारवाही गरेका वरिष्ठ नेता माधवकुमार नेपाललाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एकता गर्न सुझाव दिएका छन्।
आइतबार साँझ सामाजिक सञ्जाल ट्वीटरमा नेता बाँस्कोटाले नेपाल समूहलाई ‘महाझेली गुट’को संज्ञा दिँदै माओवादी केन्द्रसँग गएर एकता गर्न सुझाव दिएका हुन्।
‘‘न पार्टीको नाम न चुनाव चिह्न उसै एमाले मेरो रे? दुई महिनाअघि सूर्य चिह्न नपाए देशमा कायामत गर्ने प्रचण्ड घोषणा र दुई महिनापछि एमाले विस्तार र सुदृढ गर्ने महाझेली गुटको करामत उस्तै हुने हो। सोझै एकता गरे हुने । गाईलाई घाँस हजुर भैंसीलाई कुनौरो, तल्लो बाटो हजुर हामीलाई घुमाउरो,’ बाँस्कोटाले लेखेका छन्।
एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले देशैभरी समानान्तर कमिटी गठन गरिराखेको बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका नेताले भने साइबर ‘आक्रमण’ जारी राखेका छन्।
न पार्टीको नाम न चुनाव चिन्ह उसै एमाले मेरो रे? दुइ महिना अघि सूर्य चिन्ह नपाए देशमा कायामत गर्ने प्रचण्ड घोषणा र दुई महिना पछि एमाले विस्तार र सुदृढ गर्ने महाझेली गुटको करामत उस्तै हुने हो।सोझै एकता गरे हुने।गाईलाई घाँस हजुर भैसीलाई कुनौरो,तल्लो बाटो हजुर हामीलाई घुमाउरो ।
— Gokul Prasad Baskota (@GokulPBaskota) April 4, 2021