ज्वाला सिंहको नाममा चन्दा आतंक


काठमाडौं – प्रहरीले ज्वाला सिंहको नाममा चन्दा रकम माग गरेको अभियोगमा ४ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीबाट प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा राप्तीसोनारी गाउँपालिका–४ का २४ वर्षीय विकास चौधरी, ४१ वर्षीय मेघनाथ चौधरी, ४० वर्षीय भीम बहादुर भण्डारी र दाङ तुल्सीपुर उपमहानगरपालिका–१५ का २९ वर्षीय ज्योती प्रकाश चौधरी रहेका छन्।

राप्तीसोनारी गाँउपालिका–५ जुरपानी बस्ने एक पुरुषसँग विगत १ हप्ता पहिलादेखि ज्वाला सिंह समूहको नामबाट फोन गरी २ लाख रूपैयाँ रकम चन्दा माग गरेको भन्ने सूचनाको आधारमा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले आफूलाई ज्वाला सिंह समूह बताउने उनीहरूलाई चन्दा रकम माग गर्न प्रयोग भएको सिमकार्ड र चन्दा बापतको नगद १० हजार रुपैयाँसहित पक्राउ गरेको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वाला सिंह) समूहको पछिल्लो गतिविधि निस्क्रिय जस्तै छ।

प्रतिक्रिया