ललितपुरमा ट्याक्सी चालकमाथि खुकुरी प्रहार, मोबाइल–नगद लुट्ने पक्राउ


काठमाडौं – ललितपुरमा एक ट्याक्सी चालकमाथि खुकुरी प्रहार गरी लुटपाट भएको छ । यस घटनामा संलग्न भएको आरोपमा दुई जना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खोटाङ घर भई हाल ललितपुर बस्दै आएका २६ वर्षीय सिसन राई र १८ वर्षीय सविन राई रहेका छन् । उनीहरूलाई ललितपुर प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भदौ १ गते राति करिब ३ बजे बीएच ९३४५ नम्बरको ट्याक्सीका चालक बद्री नगरकोटीलाई हात्तीवनबाट ठैबतर्फ जान भन्दै उनीहरू ट्याक्सीमा चढेका थिए । ठैब पुगेर ट्याक्सी रोक्न लगाइ तत्कालै खुकुरी प्रहार गरी चालकलाई घाइते बनाएको आरोप छ ।

खुकुरी प्रहारबाट नगरकोटीको गर्धन र देब्रे हातमा चोट लागेको थियो । त्यसपछि उनीहरूले चालकसँग भएको मोबाइल, नगद र सिक्री लुटेर फरार भएको ललितपुर प्रहरी परिसरका प्रवक्ता चक्रराज जोशीले जानकारी दिए ।

प्रहरीले खुकुरीसहित दुवैलाई पक्राउ गरेको र उनीहरूविरुद्ध ज्यान मार्ने उद्योग तथा डाँका–चोरी मुद्दामा अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया