
‘हाइप्रोफाइल’सँग तस्बिर खिचेर सर्वसाधारण तर्साउने कटुवाल
काठमाडौं- नेपालमा अपराधको स्वरूप दिनहुँ बदलिँदैछ । पहिलेका अपराधीहरूले चक्कु र पेस्तोल देखाएर धाक जमाउँथे। तर, अहिलेका अपराधीहरू ‘अपडेटेड’ भएका छन् । सामाजिक सञ्जालकै पर्दा पछाडि बसेर ठूला–ठूला नेतासँग फोटो खिच्ने, प्रहरी हाकिमसँग हात मिलाउने अनि त्यही तस्बिर देखाएर सर्वसाधारणलाई तर्साउने नयाँ शैलीको अपराध बढ्दै गएको छ।
यस्तै अपडेटेड ‘फोटो खिचुवा अपराधी’ मध्येका एक हुन् कविराज कटुवाल । आफूलाई बडीबिल्डरको रुपमा चिनाउने कटुवाल प्रहरीका हाकिमदेखि सिपाहीसम्म, मन्त्रीदेखि प्रधानमन्त्रीसम्म भेटघाट गरेर फोटो खिच्ने अनि त्यही फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दै सर्वसाधारणलाई तर्साउने खेल खेल्दै आएका थिए । ‘म ठूला मान्छेसँग मिलेको मान्छे हुँ, मलाई छुन सकिन्न’ भन्ने सन्देश तस्बिरमार्फत दिने उनको शैली सामान्य नागरिकका लागि मात्र होइन, पीडितहरूमाझ अझ ठूलो आतंक बनेको थियो ।

हाइ प्रोफाइल व्यक्तिसँग देखिएको तस्बिर देखाएर आफू शक्तिशाली र ‘ठूला मान्छे’सँग मिलेको झल्को दिने उनको शैली पछिल्लो समय झनै खतरनाक बन्दै गएको थियाे ।
तर, त्यही कटुवाल अहिले आफ्नै जालमै परेका छन् । मिटरब्याजी र धम्कीको आरोपमा ललितपुर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हाे । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ घर भएका कटुवालविरुद्ध उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
कटुवालले सिन्धुपाल्चोकका एक व्यक्तिलाई एक करोड ४० लाख रुपैयाँ ऋण दिएका थिए । तर, पीडितले चार करोड ८६ लाख रुपैयाँ तिरेर पनि थप रकम माग्दै धम्की दिने क्रममा उनी पक्राउ परेको प्रहरीले जनाएको छ । त्यतिमात्र नभई कटुवालले पीडितको क्रेटा कार समेत कब्जा गरी चलाइरहेको तथ्य खुलेको छ ।
ललितपुर प्रहरीका प्रमुख एसएसपी श्याम कृष्ण अधिकारीले पक्राउ परेका कटुवालमाथि थप अनुसन्धान भइरहेको बताएका छन्।
प्रहरी र राजनीतिक पहुँचको खेल
कटुवालले प्रहरी हाकिमसँग भेटेर फोटो खिच्ने र फेसबुकमा हाल्ने बानी बनाएका थिए । प्रहरी महानिरीक्षक दिपक थापा नियुक्त भएको भोलिपल्टै भेटेर बधाई दिएका फोटो उनले सार्वजनिक गरेका थिए । त्यसैगरी प्रहरी उपरीक्षक कवित कटुवालदेखि साधारण हवल्दारसँगसम्म फोटो खिचेर फेसबुकमा राख्दै सर्वसाधारणलाई तर्साउने कटुवाल यसअघि पनि पक्राउ परेर छुटेका व्यक्ति हुन् ।
कटुवाल केवल प्रहरीसँग मात्र नभई नेतासँग पनि फोटो सेसन गर्ने गर्छन् । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि गृहमन्त्री रमेश लेखकसम्म भेटेर बधाई दिने र त्यसको फोटो सामाजिक सञ्जालमा राख्ने उनको शैलीले उनको पहुँच कस्तो छ भन्ने भ्रम सिर्जना गर्ने काम गरेको छ । मुख्यमन्त्रीदेखि मन्त्रीहरुसम्म भेटेर खिचेको तस्बिरले पनि उनी आफूलाई हाइ प्रोफाइल नेटवर्क भएको देखाउने गर्थे ।
ठूला हाकिमको संलग्नता ?
कटुवाल पक्राउ परेपछि केही प्रश्न पनि उठेका छन्। प्रहरीका हाकिमसँग नजिक देखिने, मन्त्री–प्रधानमन्त्रीसँग भेटघाट गर्ने कटुवाललाई यत्तिका वर्षसम्म कसले जोगाइरहेको थियो ? प्रहरीका जुनिएर अफिसरदेखि हाकिमसम्मलाई उनीसँग फोटो खिच्न किन सहज हुन्थ्यो ? कतै ठूला भनिएका हातहरू नै उनको पिछाडि त छैनन् ?
यसपटक पक्राउ परेका कटुवालमाथि कडाभन्दा कडा अनुसन्धान हुन्छ कि फेरि पुरानै शैलीमा ‘जोगिएर’ निस्कन्छन् भन्ने प्रश्न अहिले आम नागरिकबीच चर्चाको विषय बनेको छ ।



कागजपत्र |
