
रुपन्देहीमा धेरै नक्कली शैक्षिक प्रमाणपत्रसहित भारतीय युवक पक्राउ
भैरहवा- रुपन्देही प्रहरीले ठूलो मात्रामा नक्कली शैक्षिक प्रमाणपत्रसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको कानपुरस्थित नौवस्तीका २५ वर्षीय अभिषेक यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बेलहियाको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा आइतबार बेलहियास्थित होटल मुक्तिनाथमा प्रवेश गर्न लाग्दा यादवलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार यादवसँग नेपाल र भारतका विभिन्न शैक्षिक संस्था तथा विश्वविद्यालयका नक्कली प्रमाणपत्र, स्ट्याम्प, होलोग्राम, स्टिकर लगायतका सामग्री बरामद भएका छन्।
रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीप बहादुर क्षेत्रीका अनुसार, पक्राउ परेकासँगै त्रिभुवन विश्वविद्यालयको १०० थान ट्रान्सक्रिप्ट, ३६ थान प्रमाणपत्र, ३ थान स्ट्याम्प, ५ थान स्ट्याम्प प्याड बरामद भएको छ। साथै, त्रिभुवन विश्वविद्यालय (२०१२) लिखित ४ हजार ४० थान होलोग्राम, उच्च माध्यमिक शिक्षा परिषद् लिखित २ हजार थान होलोग्राम, राष्ट्रिय परीक्षा बोर्ड लिखित १ हजार ६ सय थान होलोग्राम र सिटीइभिटी लिखित १ हजार ९ सय थान होलोग्राम समेत फेला परेका छन्।
त्यस्तै, भारतका एमिटी विश्वविद्यालय, जवाहरलाल नेहरु टेक्नोलोजिकल विश्वविद्यालय हैदराबाद, छत्रपति शिवाजी महाराज विश्वविद्यालय कानपुर, असम हाइअर सेकेन्डरी एजुकेशन काउन्सिल, कुरुक्षेत्र विश्वविद्यालय र आन्ध्र विश्वविद्यालयका विभिन्न प्रकारका १ हजार २ सयभन्दा बढी नक्कली प्रमाणपत्र, लेटरप्याड, एडमिट कार्ड लगायतका कागजात समेत बरामद भएको प्रहरीले जनाएको छ।



कागजपत्र |
