रुबेला रोगबाट नेपाल मुक्त, डब्ल्यूएचओले गर्‍यो प्रमाणिकरण


काठमाडौं- नेपाललाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले रुबेलामुक्त राष्ट्र घोषणा गरेको छ।

डब्ल्यूएचओले सोमबार जारी गरेको विज्ञप्तिमा लामो समयदेखि जनस्वास्थ्यका रूपमा रहेको रुबेला रोग अब नेपालबाट पूर्ण रूपमा निवारण भएको पुष्टि गरिएको छ।

विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एशिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा. क्याथरिना बोहमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपालले हासिल गरेको यो उपलब्धिले शिशुहरूको स्वस्थ जीवनको सुरुवात र रुबेलामुक्त भविष्य सुनिश्चित गरेको छ।”

विज्ञप्तिमा स्वयंसेविकाहरूको निरन्तर योगदान, आम समुदायको स्वास्थ्यप्रतिको चासो र सहयोगकै कारण नेपालले यो सफलता प्राप्त गर्न सकेको उल्लेख गरिएको छ।

यससँगै नेपाल दक्षिण–पूर्वी एशिया क्षेत्रमा रुबेला निवारण गर्ने छैटौँ देश बनेको छ। रुबेला, जसलाई ‘जर्मन दादुरा’ पनि भनिन्छ, भाइरसको संक्रमणबाट हुने अति सङ्क्रामक रोग हो। यो रोग विशेषगरी गर्भवती महिलामा खतरनाक हुने गर्छ, जसका कारण गर्भपतन, मृत शिशु जन्मिनु वा जीवनभरका लागि अपाङ्गता जस्ता समस्या देखिन सक्ने डब्ल्यूएचओले जनाएको छ।

नेपालले रुबेला रोग नियन्त्रणका लागि खोपलाई प्रभावकारी हतियार बनाएको हो। सन् २०१२ मा ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै सुरु गरिएको देशव्यापी अभियानपछि रुबेला खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरिएको थियो। त्यसपछि सन् २०१६ मा रुबेला खोपको दोस्रो मात्रा पनि खोप तालिकामा थप गरिएको हो।

प्रतिक्रिया