भ्रष्टाचार मुद्दामा सुनिल पौडेलसँग ५० हजार धरौटी माग्ने आदेश


काठमाडौं- राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) का तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दामा विशेष अदालतले सोमबार ५० हजार रुपैयाँ धरौटी माग्ने आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर र न्यायाधीशहरू रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले गैरकानुनी लाभ लिने र राज्यलाई हानी पुर्‍याएको आरोपमा सो आदेश जारी गरेको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष ०७५/०७६ मा एनआईटीसी/जीएनसीबी–६–०७५/०७६ शीर्षकको खरिदमा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन सहायक निर्देशक रमेश पोख्रेलसहित ५ जना र खरिदमा संलग्न कम्पनीविरुद्ध अभियोगपत्र दायर गरेको थियो।

आयोगका अनुसार म्याक्स इन्टरनेशनलले ०७६ असार ४ गते पेस गरेको बिलअनुसार “ट्रेनिङ एण्ड वान टाइम इन्स्टलेसन एण्ड कन्फिगरेसन एट जीआईडीसी एण्ड डीआरसी” शीर्षकको भ्याटबाहेक २ करोड ६५ लाख र तीन वर्षे वारेन्टीसहित अनसाइट सपोर्ट शीर्षकको भ्याटबाहेक ३ करोड १४ लाख रुपैयाँ भुक्तानी लिएको देखिएको छ।

यस प्रकरणबाट राज्यलाई कुल ५ करोड ७९ लाख रुपैयाँ हानि पुगेको आरोप छ। साथै, आयोगले पौडेलमाथि पूर्वमा ठेक्कामा ४ लाख डलर घुसको बार्गेनिङ सुरु गरी अन्ततः २ लाख ८० हजार डलरमा पक्का भएको पत्ता लगाएको छ। ठेकेदार कम्पनीका एजेन्ट भारतीय नागरिक दीपक आनन्दसहित ह्वाट्सएपमार्फत भएको कुराकानीको विस्तृत विवरण पनि आयोगले फेला पारेको छ।

 

प्रतिक्रिया