
आफ्नै घरमा भाडामा बसेकी बालिकामाथि गिद्दे नजर लगाउने लक्ष्मण प्रहरी खोरमा
गोरखा- आफ्नै घरमा डेरा लिएर बसेकी नाबालिकामाथि गिद्दे नजर लगाउँदै बालयौन दुर्व्यवहार गरेको आरोपमा गोरखामा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गोरखा नगरपालिका–७ का ३७ वर्षीय लक्ष्मण आचार्य रहेका छन्। उनलाई साउन ३१ गते राति प्रहरीले घरमै छापा हानी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिए।
डीएसपी सुवेदीका अनुसार आचार्यले आफ्नै घरमा डेरा भाडामा बसेकी १५ वर्षीया किशोरीलाई साउन ३१ गते दिउँसो १ बजे यौन आशयका गतिविधि गर्दै शरीरका संवेदनशील अङ्गमा समातेका थिए। साथै, अस्वाभाविक यौनजन्य क्रियाकलाप गर्ने प्रयास गरेको आरोप समेत लागेको छ।
घटना भएपछि पीडित पक्षका आफन्तले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरीले तत्काल आचार्यलाई नियन्त्रणमा लिएको हो।
उनविरुद्ध बालयौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी आइतबार जिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
