रोल्पामा जंगली च्याउ खाँदा महिलाको ज्यान गयो, श्रीमानकाे उपचार हुँदै


रोल्पा – जंगलबाट संकलन गरिएको च्याउ खाएपछि बिरामी परेका एक व्यक्तिको मृत्यु भएको छ। परिवर्तन गाउँपालिका–२ राङसीकी ७४ वर्षीया निर्मला वलीको दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको हो।

निर्मलाका ८१ वर्षीय श्रीमान् भागीराम वली भने सोही अस्पतालमा उपचाररत छन्। दम्पतीले साउन २७ गते बेलुकी स्थानीय जंगलबाट ल्याएको च्याउ तरकारी बनाएर सेवन गरेका थिए। त्यसपछि दुबै जना अस्वस्थ भएका थिए।

स्थानीय मेडिकलमा प्रारम्भिक उपचारपछि अवस्था गम्भीर भएपछि उनीहरूलाई साउन २९ गते राति ९ बजे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो। उपचारकै क्रममा निर्मलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता यादवप्रसाद शाहीले जानकारी दिए।

उनको शव पोष्टमार्टमका लागि घोराहीमै राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया