
प्रधानमन्त्री ओलीलाई मिस्रीले दिए भारत भ्रमणको औपचारिक निम्तो
काठमाडौं – भारतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई दिने औपचारिक भ्रमणको निमन्त्रणा दिएको छ। आइतबार बिहान भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसँग भेट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट निमन्त्रणा हस्तान्तरण गरेका हुन्।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले भारतीय निम्तो स्वीकार भएको जानकारी दिँदै भने, “प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवले शिष्टाचार भेट गर्नुभयो। भारतीय प्रधानमन्त्री मोदीले पठाउनुभएको औपचारिक निम्तो उहाँले प्रधानमन्त्रीलाई दिनुभयो। प्रधानमन्त्रीले निम्तो स्वीकार गर्नुभएको छ। अब भ्रमणको मिति, स्थान र एजेन्डा दुई देशका परराष्ट्र तहबीचको छलफलपछि टुंग्याएर सार्वजनिक गरिनेछ।”
बालुवाटारमा प्रधानमन्त्री ओली र विदेश सचिव मिस्रीबीच करिब एक घण्टा भेटवार्ता भएको थियो। मिस्री आज साँझ परराष्ट्र मन्त्री आरजु राणा देउवासँग पनि भेट्ने कार्यक्रम छ।
मिस्री भारतीय प्रधानमन्त्री मोदीको औपचारिक निम्तो लिएर आइतबार बिहान मात्र काठमाडौं आइपुगेका हुन्।
मिस्री सोमबार स्वदेश फर्किने तयारीमा छन्। फर्किनुअघि उनले पशुपतिनाथ मन्दिरमा पूजा गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री ओलीले आगामी भदौ ३१ गतेदेखि असोज १ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने तयारी भएको भए पनि मिति औपचारिक रूपमा घोषणा भइसकेको छैन।



कागजपत्र |
