
ठमेल झगडा प्रकरणमा सानुभाइसहित ४ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं – ठमेल क्षेत्रमा गुन्डागर्दी र झगडा गरेको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको छ।
प्रहरी वृत्त सोह्रखुट्टेले अनुसन्धान प्रतिवेदन पेश गरेपछि सरकारी वकिल कार्यालयले नुवाकोटका सानुभाइ भनिने युवराज गुरुङ, दिलकुमार तुम्बापो, रवीन्द्र गुरुङ, र ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङलाई प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।
उनीहरूविरुद्ध अभद्र व्यवहारको आरोपमा मुद्दा दर्ता भएको र न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान प्रक्रिया सुरु भएको अदालत स्रोतले जनाएको छ। बयान सकिएपछि थुनछेक बहस हुने र त्यसपछि साधारण तारेख, धरौटी वा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश हुनेछ।
गत १४ साउनमा ठमेलको नगरकोट दोहोरी साँझमा सानुभाइ र राजेन्द्र गुरुङ समूहबीच झगडा भएको थियो। पुरानो रिसइबीका कारण दोहोरी साँझभित्रै हानाहानको स्थिति बनेको र राजेन्द्रले चक्कुसमेत देखाउँदै आक्रमणको प्रयास गरेको प्रहरीले जनाएको छ। बाउन्सरले उनीहरूलाई बाहिर निकालेर प्रहरीलाई खबर गरेका थिए।
यसअघि १५ असार २०८० मा पनि क्लब ओम्नियाका सञ्चालक राजेन्द्रमाथि सानुभाइ समूहले आक्रमण गरेको थियो। त्यतिबेला पक्राउ परेका सानुभाइ धरौटीमा रिहा भएका थिए।



कागजपत्र |
