
‘नेप्से एआई’ एप डाउनलोड गर्दा करोडौं रुपैयाँ हराएकाे उजुरी, अनुसन्धानमा प्रहरी
काठमाडौं- सेयर बजार विश्लेषण गर्ने भन्दै सामाजिक सञ्जालमा प्रचार गरिएको ‘नेप्से एआई’ नामक एप डाउनलोड गरेपछि करोडौं रुपैयाँ रकम बैंक खाताबाट गायब भएको उजुरीहरू प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा परेको छ। ब्यूरोका अनुसार एक जनाले मात्रै २८ लाख ६१ हजार रुपैयाँ गुमाएको छ।
फेसबुक, इन्स्टाग्राम र टिकटकमा यस्ता झुठा विज्ञापनले प्रयोगकर्तालाई फसाउने गरेको र एप डाउनलोड गर्दा रकम हराउने घटना बढिरहेको छ। प्रहरी उपरीक्षक युवराज खड्काले आधिकारिक एप स्टोरबाट मात्रै एप डाउनलोड गर्न र दुई चरणको प्रमाणीकरण (टु फ्याक्टर अथेन्टिकेशन) अपनाउन सचेत गराएका छन्।
प्रहरीले पासवर्ड नियमित रूपमा परिवर्तन गर्न, सामाजिक सञ्जालका विज्ञापनको सत्यता जाँच्न र रिमोट एक्सेस उपकरण जस्तै एनी डेस्क वा टिम भ्यूअर अरुलाई नदिन पनि सुझाव दिएको छ। यस्ता समस्या देखिएमा तुरुन्त प्रहरीलाई खबर गर्न पनि आग्रह गरिएको छ।



कागजपत्र |
