मध्यरातको झडपपछि कैलाली कारागारमा कैदीहरुको कब्जा !


कैलाली- कैलाली जिल्ला कारागार अहिले कैदीहरूको कब्जामा परेको छ । शुक्रबार मध्यरात कैदीहरूबीच भएको झडपमा एकजनाको मृत्यु भएपछि कारागारभित्र सुरक्षा निकायका पदाधिकारी प्रवेश गर्न सकेका छैनन्।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, प्रहरी उपरीक्षक बालनसिंह राणा र सशस्त्र प्रहरीका एसपी सुरेन्द्रराज रञ्जितसहितका सुरक्षा अधिकारीहरू घटनास्थलको अवस्था बुझ्न गएका थिए । तर, आक्रोशित कैदीहरूले उनीहरूलाई कारागारभित्र पस्न दिएका छैनन्।

‘हामी अहिले पनि कारागारभित्र प्रवेश गर्न सकेका छैनौँ। उनीहरू आक्रोशित छन्, थप घटना नहोस् भनेर हामीले पनि भित्र जाने प्रयास नगरेका हौँ,’ प्रमुख जिल्ला अधिकारी हमालले भने। जिल्ला सुरक्षा समितिको बैठकले कारागार सुरक्षाका लागि थप सशस्त्र प्रहरी बल तैनाथ गरेको छ।

घटनापछि राष्ट्रिय मानवअधिकार आयोगको टोली पनि कारागारभित्रको घटनास्थलसम्म पुग्न सकेको छैन। ‘कारागार प्रशासनको कार्यालयसम्म पुगिएको छ, तर भित्र जान सकिएको छैन,’ आयोगका एक अधिकृतले भने।

शुक्रबार राति भएको सामूहिक झडपमा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको हो । ४९ जना घाइते भएका छन्। यसअघि ४७ जना भनिए पनि कारागारको छतमा लुकेका थप २ जना प्रहरीको टोली पुगेपछि भेटिएका हुन्।

मृतक चौधरीको शव सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ। घाइते सबैको उपचार सोही अस्पतालमा भइरहेको छ। बरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरका अनुसार धेरैजना कैदीका हातखुट्टा भाँचिएका छन् र झडपमा फलामका रडहरूको प्रयोग भएको छ।

‘फलामे रडको व्यापक प्रयोग भएको छ। घाइतेहरूलाई ठूलो चोट लागेको छ, तर सबै खतरामुक्त छन्। एकजनाको शल्यक्रिया गरिएको छ र एकजनालाई आईसीयूमा भर्ना गरिएको छ,’ डा. कमरले भने। अस्पतालको इमर्जेन्सी वार्डमा ठाउँ अभाव भएपछि घाइतेहरूलाई कोरोनाका बेला निर्माण गरिएको नजिकैको भवनमा सारिएको छ।

प्रतिक्रिया