
प्रहरीको गोली लागेर युवकको मृत्यु भएपछि राजविराजमा प्रदर्शन
सप्तरी- सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि स्थानीयले राजविराजमा प्रदर्शन गरेका छन्। घटनाको निष्पक्ष छानबिनको माग गर्दै मृतकका आफन्त र स्थानीयले बुधबार बिहानैदेखि सडकमा टायर बालेर विरोध जनाइरहेका छन्।
मंगलबार राति अवैध मदिरा तस्करी भइरहेको सूचना पाएपछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो। त्यही क्रममा स्थानीयसँग झडप हुँदा प्रहरीको गोली लागेर ३६ वर्षीय लालु यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रहरीका अनुसार प्रहरीले नियन्त्रण लिन खोज्दा स्थानीयले ढुंगामुढा गर्न थालेपछि अवस्था तनावपूर्ण बनेको थियो। ढुंगामुढाबाट दुई जना प्रहरी पनि घाइते भएका छन्। घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ। राजविराजलगायतका क्षेत्रहरूमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।
घटनाको निष्पक्ष छानबिन भइरहेको र दोषीउपर कानुनी कारबाही गरिने प्रहरीको भनाइ छ।



कागजपत्र |
