प्रहरी ऐनमा भाषा सुधार: के-के भयो परिवर्तन ?


काठमाडौं – सरकारले प्रहरी ऐन २०१२ संशोधन गरेको छ। नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार ऐनको दफा १५ को उपदफा (ट) र दफा ३६ को उपदफा (१) को खण्ड (ख) मा संशोधन गरिएको हो।

पहिले दफा १५ को उपदफा (ट) मा “सर्वसाधारण जनतासँग शिष्ट व्यवहार गर्ने र स्वास्नी मानिस र केटाकेटीहरूसँग व्यवहार गर्दा पूरा इज्जत र मनासिब नम्रता साथ व्यवहार गर्ने” उल्लेख गरिएको थियो।

तर अहिले उक्त भाषा हटाएर “सेवाग्राही लगायत सबैसँग शिष्ट र मर्यादित व्यवहार गर्ने” भनिएको छ। ‘स्वास्नी मानिस’ जस्ता शब्दप्रति आलोचना भइरहेका बेला सो शब्द हटाइएको हो।

‘क्षेत्रीय अदालत’ शब्द पनि ‘प्रदेश अदालत’ मा परिमार्जन
त्यस्तै, ऐनको दफा ३६ को उपदफा (१) को खण्ड (ख) मा रहेको “क्षेत्रीय प्रहरी विशेष अदालत” भन्ने शब्दलाई संशोधन गर्दै अब “प्रदेश प्रहरी विशेष अदालत” बनाइएको छ।

संशोधित बुँदामा उल्लेख छ, “जिल्ला प्रहरी विशेष अदालत, प्रदेश प्रहरी विशेष अदालत र प्रहरी विशेष अदालतको गठन आवश्यकता अनुसार नेपाल सरकार गृह मन्त्रालयले गर्नेछ। प्रत्येक अदालतमा न्याय सेवा अधिकृतको अध्यक्षतामा एक जना प्रहरी अधिकृतसहित तीन जना सदस्य रहनेछन्। कारबाही पाउने व्यक्ति प्रहरी अधिकृत भएमा निजभन्दा तल्लो श्रेणीको अधिकृत मात्र विशेष अदालतमा रहनेछन्।”

सरकारले प्रचलित शब्दावली र सामाजिक सन्दर्भअनुसार ऐनको भाषा परिमार्जन गरेको हो।

प्रतिक्रिया