
चक्रे मिलनसहित १९ जना ७ दिन थुनामा बस्ने
काठमाडौं- गुण्डा नाइकेका रूपमा चिनिएका चक्रे मिलन (मिलन गुरुङ) सहित १९ जनालाई सार्वजनिक हितविरुद्धको कसुरमा प्रहरीले थुनामा राखेर अनुसन्धान अघि बढाएको छ। बिहीबार राति चक्रेको जन्मदिन मनाउने नाममा काठमाडौंको महाराजगञ्जस्थित साम्बाला होटल नजिकको क्षेत्रमा गरिएको होहल्ला, सडकमा भिड जम्मा गरी केक काट्ने र स्कर्टिङजस्ता गतिविधिका कारण उनीहरू पक्राउमा परेका हुन्।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार समातिएका ४७ मध्ये चक्रे मिलन समूहका १९ जनाविरुद्ध अभद्र व्यवहार र शान्ति सुरक्षामा खलल पुर्याएको आरोपमा ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। प्रहरीका अनुसार बाँकी २८ जनालाई स्क्रिनिङपछि प्रमाण अभावका कारण छाडिएको हो।
पक्राउ परेका १९ जनामा चक्रे मिलनसँगै गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार, प्रहरीले बिहीबार मात्रै काठमाडौंका विभिन्न स्थानबाट १०४ जना नियन्त्रणमा लिएकोमा चक्रे समूहका ४७ जना समातिएका थिए। “बाटोमै केक काटेर सार्वजनिक ठाउँमा होहल्ला गर्ने, स्कर्टिङमार्फत सडक अवरुद्ध गर्नेजस्ता कार्यले आमनागरिकमा भय फैलाउने प्रयास भएकोले सार्वजनिक हितविरुद्धको कसुरमा अनुसन्धान गरिरहेका छौं,” एसएसपी अधिकारीले भने।
प्रहरीका अनुसार, पहिलोपटक अभद्र व्यवहारको कसुरमा अनुसन्धान गरिएका व्यक्तिमाथिको मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था रहेको छ।
अहिले अनुसन्धान प्रारम्भिक चरणमा रहेकाले यदि थप प्रमाण फेला परेमा मुद्दा फौजदारी अभियोगसम्म जान सक्ने सम्भावना प्रहरीले औंल्याएको छ।



कागजपत्र |
