
उदयपुरमा बलात्कार अभियोगमा शिक्षक पक्राउ
उदयपुर – उदयपुरको चौदण्डीगढी नगरपालिका–९ स्थित सिद्धेश्वर माध्यमिक विद्यालय मुसहरनियाँमा कार्यरत शिक्षक गजेन्द्र गिरी बलात्कारको आरोपमा पक्राउ परेका छन्।
स्थानीय २४ वर्षीया महिलाले गिरीमाथि जबरजस्ती करणी गरेको आरोप लगाएकी हुन्। उनका अनुसार गिरीले उनलाई असार १७ गते चौदण्डीगढी–७, सातधारेस्थित एक होटलमा बोलाई बलात्कार गरेका थिए।
उजुरीपछि इलाका प्रहरी कार्यालय बेलटारले गिरीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
इप्रका बेलटारका प्रमुख प्रहरी निरीक्षक बबिन राईका अनुसार पीडित महिलाले उजुरीमार्फत शिक्षक गिरीले आफूमाथि बलात्कार मात्र नभई पछि पनि धम्की, गालीगलौज र अपमान गरेको उल्लेख गरेकी छिन्।
गिरीले घटनाबारे कसैलाई बताएमा नराम्रो हुने चेतावनी दिंदै बारम्बार मानसिक दबाब दिएको पीडितको आरोप छ।
गत शनिबार पक्राउ परेका गिरीलाई हाल इलाका प्रहरी कार्यालय बेलटारको हिरासतमा राखिएको छ। जिल्ला अदालतबाट सात दिनको म्याद थप गराएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
