इराकमा तैनाथ सबै नेपाली शान्ति सैनिक स्वदेश फर्किए


काठमाडौं- इराकमा संयुक्त राष्ट्रसंघीय मिसनमा तैनाथ सबै नेपाली शान्ति सैनिकहरू स्वदेश फर्किएका छन्।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार मंगलबारसम्ममा इराकको मिसनमा कार्यरत ८८ जना नेपाली सैनिकहरू नेपाल फर्किएका हुन्।

अन्तिम चरणमा प्रमुख सेनानी हिमालय थापाको नेतृत्वमा २७ सदस्यीय टोली मंगलबार स्वदेश फर्किएको छ।

संयुक्त राष्ट्रसंघको निर्णय अनुसार शान्ति मिसन अन्त्यको प्रक्रियामा रहेका कारण गत असार २४ गतेदेखि नै नेपाली सैनिकहरू स्वदेश फर्कन थालेका थिए।

इराकस्थित असिस्टेन्स मिशन फर इराक अन्तर्गत कार्यरत सबै नेपाली शान्ति सैनिकहरू चारवटा व्यावसायिक उडानमार्फत क्रमशः नेपाल फर्किएको सेनाले जनाएको छ।

संयुक्त राष्ट्रसंघले उक्त मिसन आगामी पुस १६ गतेसम्म पूर्ण रूपमा बन्द गर्ने तयारी गरेको छ। त्यसअनुसार नेपाली शान्ति सैनिकहरूलाई जुलाइको अन्त्यसम्ममा फिर्ता गरिसक्ने योजना अनुरूप उनीहरू स्वदेश फर्किइसकेका हुन्।

प्रतिक्रिया