बागमती कांग्रेस संसदीय दलको नयाँ नेता चयनका लागि प्रक्रिया सुरु


हेटौंडा- नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नयाँ नेता चयन प्रक्रिया अघि बढाउन निर्वाचन समिति गठन गरिएको छ।

मंगलबार कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको प्रदेश कार्यसम्पादन समितिको बैठकले निर्वाचन समिति गठन गर्ने निर्णय गरेको हो।

गठित समितिको संयोजकमा कांग्रेस बागमती प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठ रहेका छन् भने सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोल सदस्य रहेका छन्। समितिले अब संसदीय दलको नयाँ नेता चयनका लागि आवश्यक निर्वाचन प्रक्रिया सञ्चालन गर्नेछ।

मुख्यमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले मंगलबार दलको नेताको हैसियत गुमाएपछि नयाँ नेता चयनको प्रक्रिया सुरु गरिएको हो।

प्रदेशसभा बैठकमा लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि भएको मतदानमा लामाको विपक्षमा २२ मत परेको थियो भने पक्षमा १५ मात्र मत आएको थियो। सो मत विभाजनपछि उनी संसदीय दलको नेता रहने हैसियतमा नरहेको ठहर गरिएको छ।

 

प्रतिक्रिया