अमेरिका, सिङ्गापुर र माल्टाको सपना देखाएर लाखौं ठगी, तीन जना पक्राउ


काठमाडौं- वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर रकम ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा नुवाकोट म्यागङ गाउँपालिका–२ घर भई हाल टोखा नगरपालिका–८ बस्ने ४२ वर्षीय हेम बहादुर तामाङ, स्याङ्जा फेदीखोला गाउँपालिका–२ घर भई हाल टोखा नगरपालिका–१० बस्ने ३५ वर्षीया ईश्वरी थापा र काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–७ घर भई हाल चन्द्रागिरी नगरपालिका–५ बस्ने ६१ वर्षीया मैया देवी उप्रेती छन्।

प्रहरीका अनुसार हेम बहादुरले सिङ्गापुर पठाइदिने भन्दै दुई जना पीडितबाट २ लाख ७० हजार रुपैयाँ, ईश्वरीले माल्टा पठाइदिने भन्दै एक जना पीडितबाट ६ लाख ५० हजार रुपैयाँ र मैया देवीले अमेरिका पठाइदिने भन्दै एक जना पीडितबाट ८ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले हेम बहादुरलाई शुक्रबार टोखा नगरपालिका–८ बाट, ईश्वरीलाई शनिबार टोखा नगरपालिका–१० बाट र मैया देवीलाई आइतबार चन्द्रागिरी नगरपालिका–५ बाट पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये ईश्वरी थापालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ भने हेम बहादुर तामाङ र मैया देवी उप्रेतीलाई वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया