आफ्नो घर खरानी हुँदा पनि महेश बर्तौलालाई छिमेकीको चिन्ता !


काठमाडौं- नेकपा एमालेभित्र हाल गम्भीर आन्तरिक असहमति देखिन थालेको छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बढ्दो राजनीतिक सक्रियता, संस्थापन पक्षसँग असहमति जनाउँदा उनीमाथि गरिएको आक्रोचक आलोचना र बदनाम गर्ने अभियानले पार्टीभित्रको विभाजनलाई अझै स्पष्ट बनाइरहेको छ।

यही क्रममा एमालेका पूर्वमहासचिव तथा हाल नेकपा (समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट भई छुट्टै पार्टी खोलेका छन्। उनीसँगै एमालेका थुप्रै नेता अलगिए। त्यसैगरी, पूर्वउपाध्यक्ष भीम रावल पनि नेतृत्वबाट बेखुसी जनाउँदै पार्टीबाट बाहिरिएर ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गर्दैछन्।

यी घटनाहरूले एमालेभित्र विचार र सिद्धान्तभन्दा बढी व्यक्तिपूजाको प्रवृत्ति मौलाउँदै गएको देखाउँछ। असहमतिलाई स्वीकार्ने लोकतान्त्रिक संस्कृतिको अभावले गर्दा आलोचकहरूलाई शत्रुजस्तै व्यवहार गरिन थालिएको छ। यसैकारण पार्टी अन्धभक्तहरूको घेरामा सीमित हुँदै गएको विश्लेषण हुँदै आएको छ।

यस्तो पृष्ठभूमिमा एमाले संसदीय दलका मुख्य सचेतक तथा सांसद महेश बर्तौलाले नेपाली कांग्रेसको आन्तरिक विषयमा टिप्पणी गरेपछि सामाजिक सञ्जालमा तीव्र आलोचना सुरु भएको छ। बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध कांग्रेसकै सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेपछि बर्तौलाले एक टेलिभिजन कार्यक्रममा दिएको टिप्पणी कांग्रेस नेताहरूलाई झन् झर्को लाग्नेगरी प्रस्तुत भयो।

बर्तौलाले कार्यक्रममा भनेका छन्, “एक व्यक्तिको चरम महत्त्वाकांक्षाले अविश्वास प्रस्ताव ल्याइएको छ। त्यो पार्टीभित्र खेलहरू सिर्जना गर्ने कुरा गलत हो। संसदीय प्रणालीलाई यस्तो दिशातर्फ लैजानु हुँदैन। यस हिसाबले अन्त पनि यो रोगको प्रारम्भ हुन सक्छ। नेपाली कांग्रेसले गम्भीर समीक्षा गर्नुपर्छ। पछिल्लो जनमतमा वितृष्णा बढिरहेको छ। यो कार्यमा आगोमा घिउ थप्ने काम कांग्रेस र बागमती प्रदेशतर्फबाट भइरहेको छ। सत्ता वा पदको लालसाले हाम्रो प्रणाली ध्वस्त पार्न हुँदैन।”

उनको टिप्पणीले कांग्रेसका नेताहरूलाई झनै आक्रोशित बनाएको छ। बर्तौलाको यस्तो टिप्पणी एमालेभित्रै गम्भीर गुटबन्दी, आन्तरिक असन्तोष र अस्थिर नेतृत्व रहेको बेला आएको हो।

यसै सन्दर्भमा कांग्रेस काभ्रेका नेता मछिन्द्रकुमार लामाले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया जनाएका छन्। उनले लेखेका छन्, “महेश बर्तौला जी, तपाई एमालेको माननीय हो कि कांग्रेसको प्रवक्ता ? कांग्रेसको आन्तरिक विषयमा बोल्ने अधिकार तपाईंलाई कसले दियो? होसमा बोल्नुस्, हैसियत नबिर्सनुस्। यो हाम्रो पार्टीको आन्तरिक मामला हो, श्रद्धेय नेताहरू मिलाउँछन्। चिन्ता नगर्नुहोस्, प्रेसरको रोग लाग्ला।”

त्यस्तै, कांग्रेस बागमती प्रदेशका नेता होमराज चौंलागाईंले लेखेका छन्, “आफ्नो घर जलेर खरानी भइसकेको थाहा छैन, छिमेकीको घर जलेकोमा चिन्तित हुनुहुन्छ। विद्यादेवी, माधव नेपाल र भीम रावलजस्ता नेताहरूको विषय तपाईको पार्टीभित्रको कलह हो भन्ने बिर्सनु हुँदैन। आफ्नै पार्टीको समस्यामा ध्यान दिनुस्, अरूको होइन। उमेरले पनि अझ परिपक्व नभएका नेताहरूको हर्कतजस्तो लाग्छ।”

बर्तौलाको यो हस्तक्षेपलाई धेरैले ‘आफ्नो घर नसम्हालेर छिमेकीको आगो निभाउन खोज्ने’ प्रवृत्तिका रूपमा हेरेका छन्। राजनीतिक विश्लेषकहरू भन्छन्, “राजनीतिक शिष्टाचार र परिपक्वता देखाउनुको साटो, विपक्षी पार्टीको आन्तरिक विषयमा यसरी बोल्नुले सत्ता मोह वा अवसरवादी राजनीति झल्काउँछ।”

प्रतिक्रिया