
अख्तियार प्रमुख राईमाथि महाभियोगको प्रस्ताव, उजुरी पनि दर्ता
काठमाडौं- राष्ट्रिय सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध महाभियोग लगाउनुपर्ने माग उठेको छ। आइतबारको राष्ट्रिय सभा बैठकमा सांसद कमला पन्तले राईमाथि महाभियोगको मौखिक प्रस्ताव प्रस्तुत गरेकी हुन्।
उनको प्रस्ताव वाइडबडी विमान खरिद प्रकरणसम्बन्धी विशेष अदालतको पछिल्लो फैसलापछि आएको हो। अदालतले सो प्रकरणमा ‘चयनमुखी अभियोजन’ गरिएको भन्दै राईको भूमिकामाथि प्रश्न उठाएको थियो। सो फैसलाले अख्तियार प्रमुखको निष्पक्षता र जिम्मेवारीबारे गम्भीर बहस उब्जाएको छ।
सांसद पन्तले बैठकमा भनिन्, ‘‘नेपाल वायुसेवा निगमको सचिवसमेत अध्यक्ष रहने चलन रहँदै आएको छ। र, सोही क्रममा रहेका प्रेमकुमार राई अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त हुनुहुन्छ। तर विशेष अदालतले भनेको छ— निर्णय गर्ने अन्य सदस्यमाथि मुद्दा चलाइएको छ तर अध्यक्ष राईमाथि भने अभियोजन नचलाई चयनमुखी दृष्टिकोण अपनाइएको छ।’’
‘‘यति गम्भीर प्रश्न उठिसकेपछि या त स्वयं राईले धारणा सार्वजनिक गर्नुपर्छ वा सरकारले आफ्नो स्पष्ट अडान राख्नुपर्छ। ‘तर दुवै चुप छन्, संसद चुप लाग्ने हो भने जिम्मेवारी संसदकै हो। अब हामी बोल्नुपर्छ,’’ सांसद पन्तले भनिन्।
उनले संविधानको धारा १०१ मा उल्लेख भएको महाभियोग प्रक्रिया स्मरण गराउँदै भनिन्, ‘‘हामीसँग महाभियोगको संस्कृति छ। अब निर्णय गर्ने बेला आएको छ।’’
यसैबीच, आइतबार युवराज पौडेल नामक व्यक्तिले अख्तियार प्रमुख राईविरुद्ध ‘सी–००३४९८’ नम्बरको उजुरी दर्ता गराएका छन्। उनले पनि राईमाथि वाइडबडी प्रकरणमा निष्पक्ष अनुसन्धानको माग गरेका छन्।



कागजपत्र |
