

डीआईजी सरुवाः इन्चार्जबाट इन्चार्ज जान दौडधुप, को कहाँ ?
‘भागरथी काण्डमा सफल सुवेदीलाई मागेको ठाउँ दिने’

काठमाडौं – गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरुको सरुवाको तयारी गरेको छ । २०७७ मंसिरमा सरकारले पाँच दरबन्दी थप गरेसँगै नेपाल प्रहरीमा १९ जना डीआईजीको दरबन्दी छ ।
सातवटै प्रदेश डीआईजीको कमाण्डमा छ । यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, साइबर ब्यूरो, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को नेतृत्व समेत डीआईजीले गर्नेछन् ।
प्रहरी कर्मचारी सरुवा भएर पुगेको युनिटमा एक वर्षसम्म बस्न पाउँछ । प्रदेश, सिआइबी र अख्तियारमा कार्यरत डीआईजीहरुको एक वर्षे कार्यकाल आउँदै १२ वैशाख २०७८ मा सकिँदैछ ।
ईश्वरबाबु कार्की १ नम्बर प्रदेश, धीरजप्रताप सिंह २ नम्बर प्रदेश, वसन्त लामा बागमती प्रदेश, घनश्याम अर्याल गण्डकी प्रदेश, रवीन्द्र धानुक लुम्बिनी प्रदेश, वसन्त पन्त कर्णाली प्रदेश र उत्तम सुवेदीले सूदुरपश्चिम प्रदेशको नेतृत्व गरेका छन् ।
यस्तै अख्तियारमा अरुण बिसी, सिआईबीमा सहकुल बहादुर थापा, विशेष ब्यूरोमा प्रकाशजंग कार्की र साइबर ब्यूरोको नेतृत्व रामकृपाल साहले गरेका छन् । उनीहरुको एक वर्षे कार्यकाल सकिनै लाग्दा मन्त्रालयले सरुवाको तयारी थालेको हो ।
नेपाल प्रहरीमा इन्चार्ज भएपछि अर्कोपटक इन्चार्जमा जान नदिने, जागिरको अन्तिम चरणमा प्रहरी अधिकृतलाई इन्चार्ज नदिने प्रावधान छ । तर, प्रदेश प्रमुख रहेका डीआईजीहरुले अन्य प्रदेशमै जान लबिङ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
अख्तियारका डीआईजी बिसीले १ नम्बर प्रदेशमा जान लबिङ गरेका छन् । प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हुँदा पनि अख्तियारमै बसेका कारण बिसीले प्रदेशमा जानको लागि लबिङ गरिरहेका हुन् ।
यस्तै सिआईबी प्रमुख रहेका थापाले समेत प्रदेशमा चासो राखेका छन् । १ नम्बर प्रदेशको लागि प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीमार्फत थापाले लबिङ गरेका हुन् ।
त्यस्तै, २ नम्बर प्रदेशको लागि विशेष ब्यूरोका प्रमुख रहेका कार्कीले लबिङ गरेका छन् । आईजीपी क्षेत्रीमार्फत् नै कार्कीले २ नम्बर प्रदेशको लागि आफ्नो अनुकुलको वातावरण बनाउँदै आएका छन् ।
बागमती प्रदेशका प्रमुख रहेका डीआईजी लामाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ मार्फत् जुनसुकै ठाउँमा भएपनि इन्चार्जको लागि लबिङ गरेका छन् । लामाले इन्चार्ज पाउने सम्भावना रहेको एक प्रहरी अधिकृत बताउँछन् ।
बागमती प्रदेशमा जानको लागि थुप्रै डीआईजीहरुको दौडधुप छ । साइबर ब्यूरोका प्रमुख रहेका साहले समेत बागमती प्रदेशमा चाहना राखेका छन् । यस्तै डा. देवबहादुर बोहोरा, पुरुषोत्तम कँडेल, उमेश रन्जितकार, प्रकाश अधिकारीहरु लागिपरेका छन् । बागमती प्रदेशमा बोहोराको बढी सम्भावना रहेको बताइन्छ ।
यस्तै गण्डकी प्रदेशमा दिवेश लोहनीको चर्चा छ । बढुवामा समेत पछि पारिएका लोहनीलाई आईजीपीले गण्डकी नभए लुम्बिनी प्रदेश पठाउने तयारी गरेका छन् । लुम्बिनी प्रदेशको लागि मुकुन्द आचार्य र गणेश ऐरले समेत लबिङ गरिरहेका छन् ।
त्यसैगरी आकर्षक प्रदेश मानिने लुम्बिनी जानको लागि डीआईजीहरुको चर्को दौडधुप हुने गर्दछ । राजेश कुमार लाल कर्णले समेत लुम्बिनी प्रदेशको लागि लबिङ गरिरहेको बताइन्छ । कृषि तथा पशुपंक्षी मन्त्री पद्मा अर्यालमार्फत लबिङ गरिरहेका आचार्यको सम्भावना बढी रहेको बताइन्छ ।
लुम्बिनी नपाए गणेश ऐर कर्णाली प्रदेश भएपनि जाने मुडमा छन् । कर्णाली प्रदेशको लागि पनि उनले भित्रभित्रै लबिङ गरिरहेको बताइन्छ । लुम्बिनी प्रदेशका डीआईजी धानुक समेत प्रदेशमै जान चाहेका छन् । तर, गृह मन्त्रालयले धानुकलाई विशेष ब्यूरोमा पठाउन सक्ने सम्भावना छ ।
त्यस्तै कर्णाली प्रदेशका डीआईजी वसन्त पन्त पनि प्रदेशमै जान इच्छा देखाएका छन् । तर, पन्तलाई आईजीपी क्षेत्री नै इन्चार्ज नपठाउने मनस्थितिमा छन् । कारण – कमजोर कमाण्डिङ क्षमता ।
यस्तै अति नै विकट मानिएको सुदूरपश्चिम प्रदेशमा कोही पनि जान रुचाउँदैनन् । अघिल्लो सरुवामा संगठनको हितमा काम गर्ने असल, इमान्दार र स्वच्छ छविका उत्तम सुवेदीलाई विशेष मिसनसहित पठाइएको थियो ।
अनुसन्धानमा अब्बल मानिने सुवेदीले पनि अन्य प्रदेशमा जान इच्छा राखेका छन् । प्रदेशमा अवसर नदिए सुवेदीलाई आईजीपी क्षेत्रीले नै सिआइबी पठाउनसक्ने सम्भावना रहेको छ । सिआईबीको लागि २ नम्बर प्रदेशका डीआईजी सिंहले समेत लबिङ गरिरहेका छन् ।
भागरथी बलात्कार हत्या प्रकरणमा सफलता पाएसँगै सुवेदी निर्मला पन्त प्रकरणलाई पनि सुल्झाउने तयारीमा छन् । सोहीकारण पनि सुवेदीलाई मागेको ठाउँ दिनसक्ने सम्भावना रहेको प्रहरी संगठनभित्रै चर्चा चलेको छ ।
सुदूरपश्चिम प्रदेश इन्चार्जसिपका लागि कम आकर्षक मानिने प्रदेश भएका कारण संगठनले नै जबरजस्ती पठाउनुपर्ने हुन्छ । सुदूरपश्चिममा पुरुषोत्तम कँडेल, उमेश रन्जितकार, प्रकाश अधिकारी, राजेश कर्णमध्येबाट एकजनालाई पठाउनसक्ने सम्भावना छ ।
प्रदेश नं. १ का डीआईजी कार्की र गण्डकी प्रदेशका डीआईजी अर्यालले पनि इन्चार्जको लागि लबिङ गरिरहेका छन् । स्रोतका अनुसार कार्की र अर्यालमध्ये एकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाउन सक्ने सम्भावना छ ।

