
रुकुमकी शाहीकाे मृत्यु प्रकरणमा प्रेस चौतारी अध्यक्षविरुद्ध आत्महत्या दुरुत्साहनको आरोप
रुकुम – रुकुम पूर्वको सिस्ने गाउँपालिकामा कार्यरत २५ वर्षीया कोइली शाहीको मृत्यु प्रकरणमा नेकपा (एमाले) निकट प्रेस चौतारीका रुकुम पश्चिम अध्यक्ष परिचन्द्र खत्रीविरुद्ध आत्महत्या दुरुत्साहनको आरोपमा किटानी जाहेरी परेको छ।
शनिबार बिहान सिस्ने गाउँपालिका–६ खोपीचारस्थित कोठामा मृत अवस्थामा फेला परेकी शाहीको परिवारले खत्रीले मानसिक तनाव दिएको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा आत्महत्या दुरुत्साहन सम्बन्धी जाहेरी दिएका हुन्।
परिवारका अनुसार खत्रीले पटक–पटक फोन गरेर शाहीलाई मानसिक दबाब दिँदै आएका थिए। यही कारण शाहीले आत्महत्या गर्न बाध्य भएको आरोप जाहेरीमा उल्लेख गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमाशंकरप्रसाद यादवले घटनाको अनुसन्धान सुरु भइसकेको जानकारी दिएका छन्। डीएसपी यादवका अनुसार जाहेरी परेका व्यक्तिको खोजी कार्य जारी छ।
यता, मृतक शाहीका आफन्तले अन्त्येष्टि गरिसकेका छन्। यद्यपि, घटनाको वास्तविक कारण पुष्टि गर्न केही दिनमा पोष्टमार्टम रिपोर्ट आउने प्रहरीको भनाइ छ। जाहेरी परेपछि आरोपी परिचन्द्र खत्री हाल फरार छन्।



कागजपत्र |
