
कला क्षेत्रको साइबर अपराध हेर्ने ‘फोकल पर्सन’ तोक्न गृहमन्त्रीको निर्देशन
काठमाडौं- गीतसंगीत तथा कला क्षेत्रमा बढ्दै गइरहेका साइबर अपराध र विकृतिहरू रोक्न प्रहरीको साइबर ब्युरोमा ‘फोकल पर्सन’ तोकिने भएको छ।
बिहीबार गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखकसँग भेट गर्न पुगेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको प्रतिनिधिमण्डलसँगको छलफलका क्रममा गृहमन्त्री लेखकले यस्तो जानकारी दिएका हुन्।
छलफलमा प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा र साइबर ब्युरो प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) नवीन्द अर्याल पनि सहभागी थिए। गृहमन्त्री लेखकले साइबर ब्युरोमा फोकल पर्सन तोकेर सो क्षेत्रमा देखिएका विकृति र समस्याको समाधानका लागि प्रभावकारी रूपमा काम अघि बढाउन निर्देशन दिए।
उनले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममार्फत भइरहेका विकृति नियन्त्रणका लागि ठोस निष्कर्षसहित कदम चालिने स्पष्ट पारे।
त्यस अवसरमा प्रहरी महानिरीक्षक थापाले गीतसंगीत क्षेत्रका व्यक्तिहरूले कुनै साइबर समस्या परेमा प्रहरीमा उजुरी दिन आग्रह गरे।



कागजपत्र |
