
मामा–माइजुको हत्या गर्ने भान्जा २२ वर्षपछि पक्राउ
काभ्रेपलाञ्चोक — सिन्धुलीमा आफ्नै मामा–माइजूको हत्या गरेर फरार भएको आरोपमा एक जना व्यक्ति २२ वर्षपछि पक्राउ परेका छन् ।
दुधौली नगरपालिका–१३ का एक दम्पतीको हत्या गरेर फरार भएको आरोपमा लागेका केदारसिंह थापालाई प्रहरीले पक्राउ गरेको हो । थापाले २०६० साल पुस ६ गते राति धारिलो हतियार प्रयोग गरी ४५ वर्षका रत्नबहादुर कार्की र दुर्गामाया कार्कीको हत्या गरी फरार भएको आरोप छ ।
उदयपुर कटारीका थापालाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले दाङको लमही नगरपालिका–९ जलकुण्डीबाट पक्राउ गरेको हो । हत्यापछि विभिन्न ठाउँमा लुकेर बसेका उनलाई नेपाल प्रहरीले विशेष सूचनाका आधारमा गत असार २३ गते पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।
अभियुक्त थापालाई जिल्ला अदालत सिन्धुलीबाट म्याद गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।



कागजपत्र |
