
डेढ दर्जन नेतामाथि कांग्रेसको कारबाही, पूर्वमन्त्रीदेखि जिल्लाका सभापतिसम्म निष्कासित
काठमाडौं — नेपाली कांग्रेसले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै जिल्ला सभापति, पूर्वमन्त्री, महासमिति सदस्यदेखि स्थानीय तहका नेतासम्मलाई कारबाही गरेको छ। पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले २०७९ सालको स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टी उम्मेदवारविरुद्ध काम गरेको प्रमाणित भएकाहरूलाई विभिन्न तहको कारबाही गरेको हो।
अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाका अनुसार पार्टीको विधान २०७४ (संशोधनसहित) को धारा ३४ को उपधारा १ (क), (ख), (घ) र उपधारा ८ (ड) अनुसार कारबाही गरिएको हो।
एक वर्षको निष्कासन
समितिले पाँच नेतालाई एक वर्षका लागि कांग्रेसको सदस्यता र पार्टीबाट निष्कासित गरेको छ। निष्कासित हुनेमा:
-कास्कीका महासमिति सदस्य तथा गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का
-तेह्रथुमका महासमिति सदस्य तुलसी सुब्बा
-लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल
-खोटाङका सभापति विष्णुकुमार राई
-पर्सा क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्ता रहेका छन्।
त्यसैगरी, धनुषाको लक्ष्मीनीया गाउँपालिकाका सभापति आनन्द यादवलाई ६ महिनाको लागि सदस्यता निष्कासन गरिएको छ।
६ महिना र ३ महिनासम्मको निलम्बन
अनुशासन समितिले १२ जना नेतालाई ६ महिनासम्मको पार्टी निलम्बन गरेको छ। तीमध्ये केही नाम यसप्रकार छन्:
-सबैला नगरपालिकाका नगर सभापति खटरु यादव
-धनुषाधाम नगरपालिका वडा नं. १ का रामबाबु यादव
-मुखियापट्टी मुसहरनियाका सभापति फुलगेन यादव
-कास्की क्षेत्र नं. २ का सहसचिव भावना श्रेष्ठ
-कैलालीका महाधिवेशन प्रतिनिधि भिमबहादुर शाह, धनगढी उपमहानगरपालिकाका पूर्व महासमिति सदस्य आनन्दराज जोशी, क्षेत्रीय प्रतिनिधि रविन्द्रप्रताप सिंह, क्रियाशील सदस्यहरू लेखराज ओझा, सुभाष चन्द र बब्लुकुमार चौधरी
त्यस्तै, कास्कीका निवर्तमान सभापति कृष्ण केसीलाई ३ महिनाको लागि निलम्बन गरिएको छ।
अनुशासन समितिका अनुसार कारबाही गरिएकाहरूले सामाजिक सञ्जाल, अडियो र भिडियोजस्ता माध्यममार्फत पार्टी उम्मेदवारलाई हराउन उद्दत व्यवहार देखाएको प्रमाण फेला परेको थियो।
“पार्टी उम्मेदवारहरूलाई पराजित गराउने नियतसहित गरिएको व्यवहार, प्रचार र असहयोगका प्रमाणहरूका आधारमा कारबाही गरिएको हो,” संयोजक ढुंगानाले भने।
gress



कागजपत्र |
