एन्फाले भन्यो : प्रशिक्षक प्याट्रिकको एकल निर्णयले महिला टिममा कप्तान चयन विवाद


काठमाडौं — अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला राष्ट्रिय फुटबल टिमको कप्तान चयन प्रक्रियामा प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डको एकपक्षीय निर्णयका कारण विवाद सिर्जना भएको जनाएको छ।

एएफसी महिला एसियन कप छनोटका लागि उज्बेकिस्तान गएका नेपाली टिमका अफिसियलहरूले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कप्तान चयनमा देखिएको समस्या स्पष्ट पारे। टिम व्यवस्थापक तथा एन्फा कार्यकारी समिति सदस्य सरिला श्रेष्ठका अनुसार, काठमाडौंमै बिदाइ कार्यक्रमका बेला कप्तान छनोट गर्न प्रस्ताव गर्दा प्रशिक्षक प्याट्रिकले असहमति जनाएका थिए।

श्रेष्ठले भनिन्, “पहिलो खेलको केही समयअघिसम्म पनि कप्तानको नामसहितको टिम लिस्ट आएको थिएन। बारम्बार आग्रह गर्दा ५ मिनेटअघि मात्र टिम लिस्ट प्राप्त भयो, जसमा कप्तानको नाम उल्लेख थिएन। त्यसपछि सिनियर खेलाडी रेनुका नगरकोटीलाई कप्तान बनाएर नाम पठाइएको थियो।”

तर खेल सुरु हुनुअघि प्रशिक्षक प्याट्रिकले आफैंले साम्बा नामकी खेलाडीलाई कप्तान बनाएको जानकारी गराएको उनले बताइन्। “हामीलाई साम्बालाई कप्तान बनाएर आपत्ति थिएन, तर किन यति गोप्य रूपमा निर्णय गरियो भन्ने प्रश्न उठेको हो,” श्रेष्ठले थपिन्।

एन्फाले प्रशिक्षक प्याट्रिकको यस्तो निर्णय शैलीप्रति असन्तोष व्यक्त गर्दै टोली व्यवस्थापन र सञ्चारको अभावले समस्या सिर्जना भएको स्पष्ट पारेको छ। साथै, प्रशिक्षक नेपाल फर्कने वा नफर्कने भन्नेबारे अनिश्चितता रहेको भन्दै उनले पारिश्रमिक माग समेत व्यवस्थापकमार्फत गराएको आरोपसमेत लगाइएको छ।

प्रतिक्रिया