
मितेरी पुल पुनः सञ्चालनका लागि चीनसँग आग्रह गर्ने निर्णय
काठमाडौं — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले चीनसँग समन्वय गरी रसुवाको मितेरी पुल पुनः सञ्चालनमा ल्याउन आग्रह गर्ने निर्णय गरेको छ।
केहीबेरअघि सम्पन्न परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक दिनेश भट्टले उक्त जानकारी दिएका हुन्। उनले मितेरी पुल पुनः सञ्चालनका लागि चीनसँग औपचारिक आग्रह गरिने निर्णय बैठकले गरेको बताए।
त्यसैगरी, बैठकले मनसुनजन्य विपद्का क्षति न्यूनीकरण गर्नका लागि चीनसँग समन्वय अझै मजबुत पार्नुपर्ने निष्कर्ष निकालेको छ। पत्रकार सम्मेलनमा भट्टले भने, “चीनसँग सूचनाको आदानप्रदान नहुँदा नेपाल जुनसुकै बेला दुर्घटनाको जोखिममा पर्न सक्छ। त्यसैले दुवै देशबीच प्रभावकारी समन्वय आवश्यक छ।”
उनका अनुसार हाल नेपालमा मात्र पूर्वसूचना प्रणाली सक्रिय रहेको र एकतर्फी सूचना प्रणाली पर्याप्त नहुने भएकाले चीनसँग मिलेर पूर्वसूचना प्रणालीलाई अझै प्रभावकारी बनाउनु जरुरी रहेको बताए।



कागजपत्र |
