भाइरल पात्रबाट म्युजिक भिडियोसम्म : गुराँस नानीको सांगीतिक यात्रामा दुर्गेश र सिसनको साथ


काठमाडौं- सामाजिक सञ्जालमा ‘ट्रोल’का रूपमा चिनिएकी गुराँस नानी अहिले नेपाली म्युजिक भिडियोमा अवसर पाउनेसम्मको यात्रा तय गरेकी छन्। गायक तथा मोडल दुर्गेश थापा र भ्लगर सिसन बानियाँको सहकार्यमा तयार भएको गीत ‘जाने भए जाम माया’ को भिडियोमा गुराँस नानी मुख्य मोडलको रूपमा देखिंदै छिन्।

गुराँस नानी सोलुखुम्बुकी हुन्। उनले सानै उमेरमा आमालाई गुमाएकी थिइन् र गाउँमा भाइ र बुवासँग बस्दै आएकी थिइन्। त्यहीँबाट काठमाडौंसम्मको यात्रा उनले मोडलिङकै लागि गरेकी हुन्।

दुर्गेश थापा र सिसन बानियाँले गुराँस नानीको क्षमता देखेर उनलाई म्युजिक भिडियोमा अवसर दिएको जनाएका छन्। ‘उहाँलाई मान्छेहरूले ट्रोल गरे, तर हामीले सम्भावना देख्यौँ,’ गायक थापाले भने, ‘हामीले अरू सेलिब्रेटीलाई जति पारिश्रमिक दिन्छौँ, त्यति नै गुराँस नानीलाई पनि दिएका छौँ।’

गुराँस नानीले उक्त म्युजिक भिडियोमा अभिनय गरेबापत ५० हजार रुपैयाँ पारिश्रमिक पाएकी छन्। थापाका अनुसार यो रकमले गाउँमा उनी केही सानो उद्यम पनि सुरु गर्न सक्नेछिन्।

‘गुराँस नानीलाई हल्का रूपमा लिनुहुदैन,’ थापाले भने, ‘हामी सबैसँग आ–आफ्नो संघर्षको कथा छ। ऊ पनि त्यो बाटो हुँदै आइपुगेकी हो।’

सिसन बानियाँको लागि पनि यो सहकार्य नयाँ चरणको अनुभव हो, किनभने यसपटक उनी गायकको रूपमा पनि प्रस्तुत भएका छन्। यसअघि नवाज अन्सारीसँगको ‘बबाल’ गीतले चर्चा कमाएका बानियाँले अब संगीतमा पनि हात हालेका छन्।

गुराँस नानीलाई यो मोडलिङ अवसर मात्र होइन, समाजमा नयाँ रूपमा प्रस्तुत हुने सन्दर्भ पनि बनेको छ। सामाजिक सञ्जालमा आलोचना झेलेकी गुराँस नानीको वास्तविक जीवन संघर्ष, दुर्गेश–सिसनको सहकार्य र सांगीतिक माध्यमले उनलाई नयाँ पहिचान दिने सम्भावना देखिएको छ।

प्रतिक्रिया