
प्रेम सम्बन्ध अस्विकार भएपछि भोजपुरमा एकै परिवारका ४ जना मारिए !
काठमाडौं- मध्यराति प्रहरीलाई आएको एक आकस्मिक फोनले भोजपुरको रामप्रसाद राई गाउँपालिका–२, धोदलेखानीमा भयावह सामूहिक हत्याको रहस्य खोलिदियो। युवक राजेन्द्र राईले प्रहरीलाई फोन गरी आफूले तीन जनालाई छुरा हानेको र आफ्नो जीवन खतरामा रहेको जानकारी गराएका थिए। उक्त सूचनामा प्रहरी टोली घटनास्थल पुगेको थियो, जहाँ चार जनाको शव फेला परेको थियो।
मृतकहरू ६८ वर्षीय बेलबहादुर गिरी, उनकी पत्नी मन्जु गिरी, उनीहरूका १६ वर्षीया छोरी र १० वर्षीय छाेरा थिए। आरोपी राजेन्द्र राई भने पेटमा छुरा लागेर घाइते अवस्थामा भेटिए। उनलाई तत्काल जिल्ला अस्पताल भोजपुर लगिएको थियो र थप उपचारका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।
घटना भएको क्षेत्र दुर्गम रहेको र प्रहरी टोली पुग्न पाँचदेखि छ घन्टा लागेको वडा अध्यक्ष राजकुमार तामाङले बताए। प्रारम्भिक अनुसन्धान अनुसार, आरोपी र मृतक परिवारकी १६ वर्षीया छोरीबीच प्रेम सम्बन्ध रहेको थियो। जुन परिवारले स्वीकार नगरेको कारण विवाद उत्पन्न भएको थियो। केही दिनअघि परिवारले ती युवतीलाई माइत फिर्ता लगेका थिए। राजेन्द्र राई भोजपुर सदरमुकाममा पेन्टिङ गर्ने काम गर्थे।
“मेरो परिवारले मलाई र मेरो प्रेमलाई स्वीकारेन। उनीहरूले ममाथि हमला गरेपछि म प्रतिकारमा छु। मैले कसैलाई मार्न चाहेको थिइनँ, तर आत्मरक्षा स्वरूप यस्तो भएको हो” उनले बयानमा भनेका छन्।
राति झगडा चर्किँदा राजेन्द्रले आफूमाथि आक्रमण भएको बताउँदै प्रतिकार स्वरूप छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ।
प्रहरी मृतक र आरोपी दुवै पक्षसँग सोधपुछ गरिरहेको छ भने स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पार्ने तयारी गरेको छ।



कागजपत्र |
