
कांग्रेस केन्द्रीय समितिमा आचार्यको मागः ‘महाधिवेशन यही चैतभित्रै, कार्यकाल ३ वर्षमा झारौं’
काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टीको १५ औं महाधिवेशन यही चैत मसान्तभित्रै गर्न माग गरेका छन् । नेपाली कांग्रेस पार्टी कार्यालयमा जारी केन्द्रीय कार्य समितिको बैठकमा आइतबार बोल्दै नेता आचार्यले उक्त कुरा बताएका हुन् ।
आचार्यले पार्टीको महाधिवेशन चैत मसान्तभित्र नै गर्न सकिने जनाउँदै त्यसका लागि प्रस्तावित कार्यतालिकासहित केन्द्रीय समितिमा माग गरेका हुन् ।
त्यसका साथै केन्द्रीय सदस्य आचार्यले पार्टीका सबै तहको कार्यकाल चार वर्षबाट घटाएर ३ वर्षमा ल्याउन पनि माग गरेका छन् ।
साथै आचार्यले वर्तमान गठबन्धनको कार्यसम्पादनबारे समिक्षा गर्न समेत माग गरेका छन् । उनले सरकारलाई थप प्रभावकारी बनाउनका लागि पार्टीले भूमिका खेल्नुपर्ने माग गर्दै सरकारले विभिन्न पक्षसँग गरेका सहमति एवं सम्झौता कार्यान्वयनको माग पनि गरेका छन् ।
आजको केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत आचार्य प्रमुख विचारहरुः
१. नेपाली कांग्रेसको १५ औं महाधिवेशन यसै साल (वि. सं २०८२ साल) को चैत्र मसान्तसम्म गर्न सकिन्छ, गरौं। कार्तिक मसान्तसम्म क्रियाशील सदस्यताको काम सकौं र मंसीर भित्र वडा र पालिका स्तरको अधिवेशन गरौं। पुष, माघ र फागुन भित्र बाँकी तहको अधिवेशन सम्पन्न गरी चैत्रमा केन्द्रीय महाधिवेशन भब्यताकासाथ आयोजन गरौं।
२. पार्टीको सबै तहबाट आग्रह भएअनुसार विधानलाई आवश्यकता अनुसार परिमार्जन गर्न अविलम्व “विधान संशोधन सुझाव मस्यौदा समिति” गठन गरौं।
३. वर्तमान गठवन्धनको कार्यसम्पादन माथि मध्यावधि समिक्षा गरौं। सरकारलाई थप प्रभावकारी बनाउन एजेण्डागत तथा रणनीतिगत सुधार गरौं। सरकारले शिक्षक, किसान, विद्यार्थी, चिकित्सक, सहकारी पिडित, मिटरब्याजी पिडित, भूमिहीन, सुकुम्वासी लगायत जो जोसँग जे जस्तो सहमति वा संझौता गरेको छ, ईमानदारितापूर्वक सो को कार्यान्वयन गरौं। बाढी पहिरो पिडितले पूरै एकवर्ष कुर्दापनि सरकार भेट्टाएका छैनन। अहिले पनि स्थिति भयावह छ, विपदसँग जुध्ने सरकारी तयारी ज्यादै निमसरो देखिएको छ, संकटापन्न नागरिक माथि जिम्मेवार अभिभावकको भूमिका निर्वाह गरौं। दुग्ध किसानले आफूले सरकारलाई दिएको दूधको समयमै पैसा पाएका छैनन, खेती सिजनमा मल-बीऊ पाएका छैनन, यसको अविलम्व बैकल्पिक स्थायी समाधान खोजौं। वर्तमान सरकार निर्माणको क्रममा सहमति गरिएअनुरुप संविधान संशोधन माथि पार्टी भित्र आन्तरिक वहस चलाउन र ठोस प्रस्ताव तयार गर्न “नेपाली कांग्रेस संविधान संशोधन उच्चस्तरीय सुझाव समिति” गठन गरौं।
४. संवैधानिक पदहरुमा नियुक्तिका सन्दर्भमा सर्वोच्च अदालतबाट हालै भएको फैसलाले संविधानसभाद्वारा निर्मित संविधानको मूल मर्ममाथि गंभीर प्रहार गरेको छ। संविधानको सर्वोच्चतालाई कमजोर बनाएको छ। ब्यवस्थापिका, कार्यपालिका र न्यायपालिका बीचको शक्ति सन्तुलनलाई खलबलाएको छ। यसबारे यो बैठक मार्फत पार्टीको ठोस धारणा सार्वजनिक गरौं।
५. भातृ संस्थाहरुको हरेक २ वर्षमा तोकिएको महिना र दिनमा अधिवेशन सुनिश्चित गरौं। उपयुक्त सफ्टवेयर प्रयोग गरी प्रत्येक सदस्य मतदाता रहनेगरी प्रत्यक्ष निर्वाचनबाट नेतृत्व निर्वाचित गरौं।
६. पार्टीको सबै तहको कार्यकाल विद्यमान ४ वर्षबाट घटाएर ३ वर्ष कायम गरौं।
७. सरकार भित्र र पार्टी भित्र पनि सुशासन अभियान चलाऔं। निर्वाचित जनप्रतिनिधिहरुका लागि कार्यसम्पादन निर्देशिका जारी गरेजस्तै पार्टी नेता एवं सदस्यहरुका लागि पनि “नेपाली कांग्रेस सुशासन र सुसंस्कार निर्देशिका” जारी गर्न जरुरी भयो, गरौं।
८. नेपाली कांग्रेसका बाँकी विभागहरु अविलम्व गठन गरौं। प्रत्येक विभागमा १८-३० उमेर समूह र विषय विज्ञ, बुध्दिजिवीहरुको कम्तिमा एक-तिहाई सहभागिता रहनेगरी सबै विभागलाई शीघ्र पूर्णता दिऔं।
९. भ्रष्टाचारको सवालमा नेपाली कांग्रेसको “कोही अपराधि नउम्किउन, निर्दोष कोही नफसुन” भन्ने दृष्टिकोण र प्रतिवध्दतालाई मन, वचन, कर्मले अझै प्रखर तुल्याऔं। भ्रष्टाचारलाई तिरष्कार गरौं।
१०. सय दिने विशेष अभियानको क्रममा चितवन पुगेर तोकिएका जिम्मेवारी सम्पन्न गरेपछि मैले पाएको निष्कर्ष के हो भने हामीले आफूलाई जगमा रहेका, संघर्ष गरेका, समूदायसँग जोडिएका अग्रज एवं साथीहरुको राय सुझाव अनुसार समयसापेक्ष रूपान्तरण गर्यौं भने पार्टीलाई पूर्ववत अझै सशक्त, मजवुत र लोकप्रिय बनाउन सकिन्छ। आगामी दिनमा जिल्ला-जिल्लामा २ वटा अभियान संचालन गर्न प्रस्ताव गर्दछु- (क) आन्तरिक मेलमिलाप तथा एकता अभियान (ख) “जनताको सरोकार, जनतासँग एकाकार” अभियान



कागजपत्र |
