धनुषामा ३१ करोडको भ्रष्टाचार: तत्कालीन गाउँपालिका अध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा


काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित ९ जना र एक निर्माण कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले सार्वजनिक सम्पत्ति हिनामिनासम्बन्धी आरोपमा तत्कालीन अध्यक्ष बद्रीनारायण सिंह, उपाध्यक्ष रामवती देवी मण्डल, प्रमुख प्रशासकीय अधिकृतलगायतलाई प्रतिवादी बनाएको हो। उनीहरूसँगै कन्स्ट्रक्सन प्रालि नामक निर्माण कम्पनी पनि मुद्दामा संलग्न छ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७७/७८ मा बजार नाला तथा फोहोरमैला व्यवस्थापन शीर्षकको बजेट प्रयोग गरेर कुनै वैधानिक निर्णय विना गोप्य रूपमा बजार सेड निर्माण गरिएको थियो। एउटै निर्माण व्यवसायीबाट तीन फरक नाममा टेन्डर गराई प्रतिस्पर्धाविना सम्झौता गरिएको र पटक–पटक म्याद थप्दै गुणस्तरहीन निर्माण गरिएको आरोप छ।

यसरी निर्माण गरिएको सेडको नापी पनि वास्तविकभन्दा बढी देखाइएको र सोही आधारमा ३१ करोड ३४ लाख ७७८ रुपैयाँ बराबरको सरकारी सम्पत्ति हिनामिना गरिएको आयोगले दाबी गरेको छ।

मुद्दासँगै अख्तियारले सम्बन्धितहरूसँग सोही रकम विगो माग गरेको छ।

प्रतिक्रिया