
सहायक रथी खड्का र मेजर कार्की बर्खास्त, करोडौं भ्रष्टाचारको ठहर
काठमाडौं – नेपाली सेनाका सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्कीलाई सैनिक कल्याणकारी कोषमा गरिएको भ्रष्टाचारको अभियोगमा सेवाबाट बर्खास्त गरिएको छ। सैनिक विशेष अदालतले बिहीबार दोषी ठहर गर्दै उनीहरूलाई बर्खास्त गर्ने फैसला सुनाएको हो।
सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार उनीहरूलाई सैनिक अनुशासन, आचारसंहिता र सम्पत्ति सम्बन्धी कसुरमा सैनिक ऐन २०६३ को दफा १०१ अनुसार बर्खास्त गरिएको हो। साथै अपचलन भएको २ करोड २१ लाख ८५ हजार रुपैयाँ बराबरको रकम उनीहरूबाट असुल उपर गर्ने निर्णय गरिएको छ।
सैनिक अदालतको निर्णयअनुसार, यस प्रकरणमा सेनाबाट अवकाश भइसकेका आत्मराम थापा र लक्ष्मण अधिकारी पनि दोषी ठहर भएका छन्। थापा पुर्पक्षका लागि थुनामा छन् भने अधिकारी अमेरिका फरार छन्।
उनीहरूले आवास तथा बीमा शाखामा काम गर्ने क्रममा नक्कली कागजात तयार गरेर काल्पनिक नाममा रकम निकासी गरी ठगी गरेको पाइएको हो। कोर्ट अफ इन्क्वायरी बोर्डको अनुसन्धानपछि अदालतमार्फत कोर्टमार्सल प्रक्रिया अघि बढाइएको थियो।
अब बर्खास्त भएका दुई जनामाथि भने मुलुकी अपराध संहिता २०७४ को दफा २५२ बमोजिम आपराधिक विश्वासघात अन्तर्गत जिल्ला अदालत काठमाडौंमा मुद्दा चलाइनेछ। दोषी ठहरिए ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको सजाय हुनसक्ने कानुनी प्रावधान छ।



कागजपत्र |
