
बुढ्यौली रोक्ने औषधि प्रयोग गर्थिन् अभिनेत्री शेफाली जरीवाला
मुम्बई- बलिउड अभिनेत्री तथा मोडल शेफाली जरीवालाको ४२ वर्षको उमेरमा निधन भएको छ। उनको मृत्युले भारतीय मनोरञ्जन क्षेत्रमा शोक छाएको छ। प्रारम्भिक फोरेन्सिक रिपोर्ट अनुसार एन्टी-एजिङ औषधिको इन्जेक्सनको रियाक्सनका कारण कार्डियाक अरेस्ट (हृदयघात) भएर निधन भएको देखिएको छ।
शेफाली जरीवाला विगत ७–८ वर्षदेखि नियमित रूपमा एन्टी–एजिङ ट्रीटमेन्ट(बुढ्यौली रोक्ने) लिंदै आइरहेकी थिइन्। २७ जूनको दिन उनले व्रत रहेको अवस्थामा दिउँसो एन्टी-एजिङ इन्जेक्सन लिएकी थिइन्। त्यसपछि राति करिब १०–११ बजे तिर उनी अचानक बेहोस भएर लडेकी थिइन्। परिवारले तुरुन्तै उनलाई मुम्बईको बेल्लेभ्यू मल्टिस्पेशलिटी अस्पताल पुर्याएको थियो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषणा गरे।
फोरेन्सिक टोलीले शेफालीको घरबाट विभिन्न औषधिहरू जफत गरेको छ, जसमा एन्टी–एजिङ भाइल्स, भिटामिन सप्लिमेन्ट, ग्यास चक्कीहरू लगायतका औषधिहरू छन्। प्रहरीको अनुसन्धानमा उपवासको दिन शरीरमा औषधीको असरले रक्तचाप अत्यन्तै घटेको र त्यसले कार्डियाक अरेस्ट निम्त्याएको हुन सक्ने अनुमान गरिएको छ।
हालसम्म प्रहरी र फरेन्सिक टोलीले ८ जनाको बयान लिइसकेको छ, जसमा उनका पति पराग त्यागी, आमा, कामदार र अस्पतालका चिकित्सक पनि समावेश छन्। प्रारम्भिक अनुसन्धानमा कुनै प्रकारको झगडा, हिंसा वा आत्महत्याको आशंका देखिएको छैन।
पोस्टमार्टम रिपोर्टको प्रतीक्षा
शेफालीको शव परीक्षण कूपर अस्पतालमा गरिएको भए तापनि, विस्तृत पोस्टमार्टम रिपोर्ट सार्वजनिक भइसकेको छैन। प्रहरीले औषधिहरूको प्रयोगशाला परीक्षण गराइरहेको र त्यसपछि मात्र मृत्युको ठोस कारण पुष्टि हुने बताएको छ।
एन्टी-एजिङ औषधिको जोखिमबारे चेतावनी
स्वास्थ्य विज्ञहरूका अनुसार एन्टी-एजिङ औषधिहरू विशेषगरी हर्मोनल संरचना परिवर्तन गर्ने औषधिहरू भएमा हृदय स्वास्थ्यमा असर पार्न सक्छन्। चिकित्सकहरूले यस्तो उपचार गर्नु अघि व्यक्तिगत स्वास्थ्य अवस्था अनुसार सावधानी अपनाउन सुझाव दिएका छन्।
शेफाली जरीवालाको अन्त्येष्टि शनिबार, २८ जूनका दिन मुम्बईमै परिवारजनको उपस्थितिमा सम्पन्न भएको हो।



कागजपत्र |
