

अज्ञात समूहले गोली चलाउँदा महोत्तरीमा एक जना घाइते

जनकपुरधाम – अज्ञात समूहले चलाएको गोली लागेर महोत्तरीमा एक जना घाइते भएका छन् ।
औरही नगरपालिका–६ बैरियामा अज्ञात समूहले चलाएको गोलीबाट बर्दिवास नगरपालिका–१ का ३० वर्षीय रोशन कोइराला घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार कोइरालामाथि दुई गोली प्रहार गरिएको छ । एउटा गोली उनको हातमा र अर्को कोखामा लागेको छ।
घाइते कोइरालालाई उपचारका लागि बर्दिवासस्थित जनसेवा अस्पतालमा भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ ।
बुधबार राति करिब ७ः३० बजेतिर कोइरालामाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

