


बगरमा गाडेको अवस्थामा भेटियो ११ सय किलो गाँजा

सुनसरी- सुनसरीको हरिनगरा गाउँपालिकाको कटान खोला बगरमा गाडेर लुकाइएको अवस्थामा ११ सय किलोभन्दा बढी तयारी गाँजा बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय, सुनसरीका अनुसार वडा नम्बर ५ र ६ को सिमानामा पर्ने कटान खोलाको बगरमा १ हजार १ सय २० किलोग्राम गाँजा प्लास्टिकका बोरामा प्याक गरी गाडिएको अवस्थामा फेला परेको हो।
भारतमा तस्करी गर्न तयारी अवस्थामा राखिएको सो गाँजा कसले लुकाएको भन्नेबारे यकिन भइनसकेको प्रहरीले जनाएको छ। तर तस्करले भारतीय पक्षबाट लिन ढिलाइ भएपछि अस्थायी रूपमा बगरमा लुकाएको हुन सक्ने अनुमान गरिएको छ।
घुस्कीस्थित प्रहरी चौकीले सूचना पाएपछि देवानगञ्ज इलाका प्रहरी कार्यालय, सुरक्षा बेस क्याम्प बसन्तपुर, जिल्ला प्रहरी कार्यालय सुनसरी र शसस्त्र प्रहरी बलको संयुक्त टोलीले मंगलबार साँझ उत्खनन गरेर गाँजा बरामद गरेको हो।
बरामद गरिएको गाँजा अहिले जिल्ला प्रहरी कार्यालय, सुनसरीमा राखिएको छ र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार धनकुटाको शहीदभूमि गाउँपालिका क्षेत्र सबैभन्दा बढी गाँजा उत्पादन हुने क्षेत्र हो। बराहक्षेत्र र विष्णुपादुका हुँदै सो गाँजा भारत पठाउने प्रयास हुँदै आएको जनाइएको छ।

