‘द गेम’देखि प्रहरी प्रमुखसम्म: एसपी बाल नरसिंह राणाका दुई दुनियाँ


काठमाडाैं- जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणा केवल कानुनी व्यवस्था कायम गर्ने कमाण्डर मात्र होइनन्। उनी रंगमञ्चका रंगीन नायक, कथाकार, गीतकार र स्क्रिप्ट लेखक पनि हुन्। एकै जीवनमा प्रहरी र कलाकार दुवैको यात्रा तय गरेका राणाको कथा सिनेमा जस्तै रोचक छ।

“बच्चैदेखि हिरो बन्ने कि पुलिस बन्ने सपना थियो,” राणा त भन्छन्, “अब त दुवै बन्ने अवसर पाएँ।”  राणाले ‘मेरो हजुर’ फिल्मबाट सिनेयात्रा थालेका थिए। सानो भूमिकाबाट सुरु भएको त्यो यात्रा ‘द गेम’ फिल्ममा नायक र स्क्रिप्ट लेखक बन्न पुग्यो। “ मेरो हजुर फिल्मबाट डेब्यु गरेको। त्यहाँ सानो प्रहरी इन्सपेक्टरको रोल गरेँ। यता इन्सपेक्टरमा पनि नाम निस्कियो” उनले थपे।

राणाले ‘सुखदुःख’, ‘मुग्लान’जस्ता फिल्ममा अभिनय गरेका छन्। त्यसपछि आफ्नै प्रोडक्सनमा बनेको ‘द गेम’ फिल्ममा मुख्य भूमिकामा देखिए। “त्यसमा मेरो श्रीमती डाइरेक्टर हुनुहुन्थ्यो,” उनले भने, “उहाँ अहिले डाइरेक्टर एशोसिएसनको निवर्तमान अध्यक्ष हुनुहुन्छ। अनि ‘म त तिम्रै हो नि’ फिल्ममा पनि अभिनय गरेँ।”

उनी भन्छन्, “मेरो लास्ट फिल्म नेपालकै सबैभन्दा फ्लप फिल्म हो, जसमा मैले अभिनय गर्ने अवसर पाएँ। त्यो फिल्म त नमेटिने घाउजस्तै भयो। सुन्नुभएको होला नाम?” भनेर प्रश्न पनि गरे।

राणा प्रहरी भए। प्रहरी भएपछि विवाह गर्ने बेला आयो। संयोग यस्तो पर्‍यो कि श्रीमती पनि चलचित्रकै क्षेत्रकी भइन्। “लभ म्यारिज पनि होइन,” उनले भने, “मागी विवाह भएको हो। फाल्गुन २५ गते हेरेँ, ३० गते विवाह भयो।”

राणाले गीत लेख्ने रुचि पनि खुलाए। “गीत पनि म आफै लेख्छु। अहिले फुर्सद नभएर यो लाइनबाट अलि टाढा हो कि जस्तो भएको छ,” उनले बताए।

एसपी राणाले सुदूरपश्चिमको भाषा, कला, साहित्य, पर्यटन र चलचित्र क्षेत्रको विकासमा चासो राख्दै आएको बताउँदै धनगढीमा  आयोजित एक अन्तरक्रिया कार्यक्रममा उक्त कुरा राखेका हुन्।

प्रतिक्रिया