


राउटे युवतीमाथि दुर्व्यवहार गर्ने शाही पक्राउ

सुर्खेत- राउटे समुदायका युवतीहरूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दैलेखका तपेन्द्र शाहीलाई पक्राउ गरेको छ।
चार जना युवतीलाई गुडिरहेको ट्रकमा राखेर दुर्व्यवहार गरिरहेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएलगत्तै प्रहरीले उनको खोजी थालेको थियो।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालका अनुसार शाहीलाई शनिबार बिहान आठबीस नगरपालिकाको तुनीबगरबाट पक्राउ गरिएको हो।
‘घर्ती जगत’ नाम भएका फेसबुक प्रयोगकर्ताले १५ सेकेन्डको उक्त भिडियो केही दिनअघि सार्वजनिक गरेका थिए।
प्रहरीले भिडियो सार्वजनिक गर्ने व्यक्तिको समेत खोजी थालेको छ। उक्त विषयमा विभिन्न संघसंस्था र व्यक्तिहरूले सुर्खेतमा समेत उजुरी दिएका थिए।
भिडियो कुन ठाउँको हो भन्ने स्पष्ट नभएको तर पक्राउ गरिएका व्यक्तिसँग सोधपुछ हुनै बाँकी रहेको प्रहरीले जनाएको छ।

