राजावादी प्रदर्शन लक्षित गर्दै एआईजी तामाङद्वारा उपत्यका प्रहरीलाई विशेष ब्रिफिङ


काठमाडाैं-  गणतन्त्र स्थापनाको १७ वर्ष पूरा हुँदै गर्दा काठमाडौं उपत्यकामा राजावादी र सत्तारूढ दल एमालेको शक्ति प्रदर्शन हुने भएको छ। जेठ १५ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका समूहले पूर्वराजाको पक्षमा प्रदर्शन गर्न लागेको छ भने नेकपा (एमाले) ले पनि शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ।

विरोध प्रदर्शनका कारण उपत्यकाको सुरक्षा संवेदनशील हुने देखिएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयले व्यापक सतर्कता अपनाएको छ। प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी टेकबहादुर तामाङले बुधबार बिहान काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख प्रहरी अधिकृत तथा वृत्त प्रमुखहरूलाई विशेष निर्देशन दिएका छन्।

तामाङले प्रदर्शन नियन्त्रणका क्रममा संयमता अपनाउन, बल प्रयोग गर्नु परे अन्तर्राष्ट्रिय मान्यताअनुसार गर्न र मानवअधिकारको पूर्ण पालना गर्न निर्देशन दिएका छन्। साथै, भीड नियन्त्रणको अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीलाई सामूहिक ऐक्यभावसहित उच्च मनोबलका साथ व्यावसायिक ढंगले काम गर्न निर्देशन दिइएको छ।

प्रदर्शनका बेला भीआईपी तथा संवेदनशील स्थलहरूको सुरक्षा बलियो बनाइनेछ। प्रदर्शनकारीको गतिविधिबारे जानकारी संकलनमा पनि प्रहरीले विशेष ध्यान दिने जनाएको छ।

 

प्रतिक्रिया