
एटिएम ह्याक गरी रकम निकाल्ने चिनियाँ नागरिक पक्राउ
काठमाडौं – एटिएम बुथबाट अनाधिकृतरुपमा रकम झिकेको अभियोगमा प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौं र दरबार मार्गको टोलीले मङ्गलवार काठमाडौंको ज्याठाबाट २९ वर्षीय चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो।
ज्याठामा रहेको मेगा बैङ्कको एटिएम बुथभित्र पसेर एटिएम मेशिन ह्याक गरी रकम झिक्न लाग्दै गर्दा चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश कुमार बस्नेतले जानकारी दिए।
उनी बस्ने कोठामा खानतलासी गर्दा अन्य सङ्कास्पद सामाग्री समेत फेला पारेको प्रहरीले जानकारी दिएको छ। कोठाबाट विभिन्न किसिमको १० चाबीको झुप्पा, १० थान एटिएम कार्ड, ड्रिल मेसिन र त्यसमा प्रयोग हुने काटी लगायतका अन्य सामान समेत फेला पारेको हो।
यसअघि पनि चीनबाट नेपाल आएर बैङ्कको एटिएम ह्याक गरेर रकम झिकेको अभियोगमा चिनियाँ नागरिक पक्राउ पर्दै आएका छन्।



कागजपत्र |
