विद्यालय कर्मचारी परिषद्‌द्वारा आन्दोलनको कार्यक्रम स्थगित


काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माग सम्बोधन गर्ने जनाएपछि नेपाल विद्यालय कर्मचारी परिषदले आन्दोलन स्थगित गरेको छ । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीले लामो समयदेखि आफ्नो विभिन्न मागसहित आन्दोलनमा थिए ।

नेपाल शिक्षक महासंघसँग मिलेर गत चैत २० गतेदेखि काठमाडौंकेन्द्रित एकमहिने सडक आन्दोलन गरेको विद्यालय कर्मचारी परिषदले सरकारसँग सहमति गर्दा महासंघले आफूलाई धोका दिएको जनाउँदै आन्दोलनलाई निरन्तरता दिएको थियो ।

त्यसपछि एक्लै चरणबद्ध आन्दोलन घोषणा गरेको कर्मचारी परिषदले मंगलबार शिक्षा मन्त्रालयले माग सम्बोधन गरिदिने निर्णय गरेपछि आन्दोलन स्थगित गरेको हो ।

मन्त्रालयले विद्यालय कर्मचारीका विभिन्न मागहरूमध्ये केही माग मन्त्रिपरिषद्को निर्णयबाट सम्बोधन भइसकेको तथा अन्य माग विद्यालय शिक्षा विधेयकमा समेटिएको जानकारी गराइएको छ ।

कर्मचारीको बिरामी बिदा सञ्चित गर्ने, दुर्गम भत्ता उपलब्ध गराउने, ६० वर्ष उमेर पुगेका कर्मचारीलाई कानुनबमोजिम सेवासुविधा दिने विषयमा ऐनको अधीनमा रही मन्त्रालयको तर्जुमा गरिने नियम, निर्देशिका वा कार्यविधिमा समावेश गर्ने प्रक्रियामा अघि बढाउन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेको छ ।

शिक्षा मन्त्रालयको पत्रप्रति आभार व्यक्त गर्दै विद्यालय परिषदले आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको जनाएको छ ।

 

शिक्षा मन्त्रालयको विज्ञप्ति

प्रतिक्रिया